प्रतिनिधिसभा निर्वाचनः वास्तविक मतपत्रको नमूना सार्वजनिक गर्न सुरु

शनिबार, १७ माघ २०८२

काठमाडौँ : निर्वाचन आयोगले कर्णाली र सुदूरपश्चिम प्रदेशका जिल्लाबाट वास्तविक मतपत्रको नमूना सार्वजनिक गर्न सुरु गरेको छ । कर्णाली प्रदेशको सल्यान, डोल्पा, मुगु, जुम्ला, कालीकोट, हुम्ला, जाजरकोट र रुकुमपश्चिममा एउटा मात्र निर्वाचन क्षेत्र छन् भने दैलेख र सुर्खेतमा दुईवटा निर्वाचन क्षेत्र छन् । 

ती जिल्लाको वास्तविक मतपत्रको नमूनासमेत सार्वजनिक गरिएको आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले बताए । सुदूरपश्चिम प्रदेशको बाजुरा, बझाङ, डोटी, दार्चुला, बैतडी र डडेल्धुरामा एउटा मात्र निर्वाचन क्षेत्र रहेका छन् भने अछाममा दुई, कञ्चनपुरमा तीन र कैलालीमा पाँच निर्वाचन क्षेत्र रहेका छन् । ती सबै निर्वाचन क्षेत्रको वास्तविक मतपत्रको नमूनासमेत आयोगले सार्वजनिक गरिएको उनले जानकारी दिए । 

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि विभिन्न जिल्ला र निर्वाचन क्षेत्रको मतपत्रको नमूना सार्वजनिक गर्ने क्रम जारी रहेको आयोगले जनाएको छ । आयोगले सातवटै प्रदेश मातहतका जिल्लाका मतपत्रको नमूना सार्वजनिक गरिसकेको छ । आयोगले एउटा मात्र निर्वाचन क्षेत्र भएका जिल्लाको एक प्रकारको र एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाको अर्को प्रकारको मतपत्रको नमूना सार्वजनिक गरेको हो ।

उम्मेदवारको संख्याका आधारमा पनि मतपत्रको नमूना तयार पारिएको आयोगले प्रस्ट पारेको छ । उम्मेदवार धेरै भएका निर्वाचन क्षेत्रका मतपत्रको आकार तुलनात्मक रूपमा ठूलो र कम उम्मेदवार भएका निर्वाचन क्षेत्रको हकमा भने सानो मतपत्र रहने जनाइएको छ । सबैभन्दा धेरै निर्वाचन क्षेत्र भएको काठमाडौँमा उम्मेदवार पनि बढी भएकाले मतपत्रको आकार ठूलो हुने आयोगका सहायक प्रवक्ता जिसीले बताए ।

आयोगका अनुसार अन्य जिल्लामा पनि वास्तविक मतपत्र क्रमशः सार्वजनिक गर्दै जाने छ । जनक शिक्षा सामग्री केन्द्रले मतपत्र छपाइको काम जारी रहेको जनाएको छ । आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्रको छपाइ सम्पन्न भइसकेको जनाएको छ । 

त्यसैगरी, आयोगले विभिन्न जिल्लाका विभिन्न निर्वाचन क्षेत्रको नमूना मतपत्र तयार पारेर निर्वाचन सचेतनाको कार्यक्रम पनि अगाडि बढाएको छ । मतदाता सचेतना कार्यक्रमका लागि तयार पारिएको नमूना मतपत्र विभिन्न मतदान केन्द्र मातहत पु¥याउने काम पनि अगाडि बढेको आयोगका सहायक प्रवक्ता जिसीले बताए ।
 

प्रतिक्रिया

रासस
लेखकको बारेमा
रासस

नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।

सम्बन्धित समाचार