इटहरी : ठेक्का सम्झौता अनुसार काम नगरेको भन्दै सुनसरीको इनरुवा कौवाखोच सडक खण्डको जिम्मा पाएको निर्माण कम्पनीसङको ठेक्का सम्झौता अन्त गरिएको छ ।
इनरुवा कौवाखोज सडक खण्डको निर्माणको जिम्मेवारी पाएको गौरी पार्वती देव एण्ड सायर भूमि जे भी विराटनगरसङको ठेक्का सम्झौता अन्त गरिएको हुलाकी राजमार्ग निर्देशनालय इटहरीले जनाएको हो ।
हरेक निर्वाचनमा राजनैतिक मुद्दाका रुपमा चर्चा पाउदै आएको इनरुवा कौवाखोज सडक खण्डको निर्माणको जिम्मा पाएको कम्पनीले निर्धारित अवधिमा काम सम्पन्न गर्न नसकेको , काम सम्पन्न गर्न सक्ने स्रोत परिचालन को भरपर्दो योजना र कार्य सम्पन्न गर्ने प्रतिबद्धता निर्माण कम्पनीले गर्न नसक्दा ठेक्का सम्झौता अन्त गरिएको हुलाकी राजमार्ग निर्देशनालयले जारी गरेको सूचनामा जनाइएको छ । निर्देशनालयका सूचना अधिकारी इन्जिनियर उपेन्द्र दासले इनरुवा कौवाखोज सडक खण्डको निर्माणको जिम्मा पाएको कम्पनीसङको ठेक्का सम्झौता अन्त भएको जानकारी दिए ।
लामो समय देखि निर्माणको काम नगरिएको , भत्काइएको तथा भत्किएको सडकका कारण हिउँदमा धुलाम्मे र वर्षायाममा हिलाम्मे भएर आवतजावतका समस्या हुने गरेको भन्दै स्थानीयले पटक पटक सडक निर्माण कार्य गरिदिन माग राख्दै सडक आन्दोलन समेत गर्दै आएका थिए ।
यसै बिच जिल्ला प्रशासन कार्यालय सुनसरीमा इनरुवा कौवाखोज सडकका विषयमा सरोकारवाला बिच छलफल गरिएको छ । छलफलमा ठेक्का सम्झौता अन्तकाले धुलाम्मे सडक प्रयोगकर्ता तथा स्थानीयवासीको स्वास्थ्य र सहजताका लागि इनरुवा नगरपालिका वडा नम्बर १० जल्पापुर सम्म इनरुवा नगरपालिकाले नियमित पानी हाल्ने र आगामी पौष ३ गतेबाट मर्मत सँभार को काम थालिने सहमति भएको छ । छलफल प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेको पहलमा भएको थियो । छलफलमा हुलाकी राजमार्ग निर्देशनालयका निर्देशक युवराज पोखरेल , इनरुवा नगरपालिका प्रमुख केदार भण्डारी , समाजसेवी दिलिपचन्द साह लगायत स्थानीयवासी , सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो ।
प्रतिक्रिया