इनरुवा : सुनसरी जिल्लामा ३२ हजार बढी नयाँ मतदाता थपिएका छन् ।
जिल्ला निर्वाचन कार्यालय सुनसरीका अनुसार गत असोज १० गते यता देखि यही मङ्सिर ५ गते सम्म ३२ हजार ३ सय ८१ जना मतदाता थपिएका हुन ।
कार्यालयकी सूचना अधिकारी कुमारी आचार्यका अनुसार गत असोज १० गते देखि यही मङ्सिर ५ गते सम्म आवेदन दिएर दर्ता हुने नयाँ मतदाताको सङ्ख्या १२ हजार ७ सय २ जना र राष्ट्रिय परिचयको विवरणका आधारमा १९ हजार ६ सय ७९ जना नयाँ मतदाता थपिएका हुन । आचार्यका अनुसार थप भएका मतदातामा बाहिरी जिल्लाका समेत रहेका छन् । त्यसै गरी यही मङ्सिर ५ गते सम्म ठाउँ सारीका लागि २ हजार १ सय ९६ जनाले आवेदन दिएको समेत सूचना अधिकारी आचार्यले जानकारी दिइन । त्यसै गरी अनुसूची २ अनुसार ५ सय ८३ जनाको व्यक्तिगत विवरणका आधारमा त्रुटि रहेको पाइएको समेत जनाइएको छ ।
निर्वाचन आयोगले मतदाता नामावली दर्ता र अद्यावधिकका लागि सूचना जारी गर्नु अघि सम्म सुनसरी जिल्लामा कुल ५ लाख ५० हजार १ सय ५७ जना मतदाता रहेका थिए । जसमा २ लाख ७२ हजार २ सय १२ जना महिला र २ लाख ७७ हजार ९ सय ४३ जना पुरुष र २ जना अन्यको नाम मतदाता नामावलीमा सूचीकृत रहेको थियो ।
प्रतिक्रिया