काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको पहिलो ६ महिनामा ३ करोड १७ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ करोड ५५ लाख रुपैयाँ मात्र खुद नाफा कमाएको थियो। त्यसको तुलनामा चालू आवको पहिलो ६ महिनामा खुद नाफा १०४.८३ प्रतिशतले वृद्धि भई दोब्बरभन्दा बढी पुगेको हो।
खुद ब्याज आम्दानीतर्फ पनि कम्पनीको प्रदर्शन बलियो देखिएको छ। गत आवको दोस्रो त्रैमाससम्म ५ करोड १६ लाख रुपैयाँ रहेको खुद ब्याज आम्दानी चालू आवको दोस्रो त्रैमाससम्म बढेर ८ करोड ९४ लाख रुपैयाँ पुगेको छ।
समीक्षा अवधिमा कम्पनीको कुल सञ्चालन आम्दानी ६ करोड ४८ लाख रुपैयाँबाट बढेर १० करोड ३९ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन खर्च पनि ४ करोड ३६ लाख रुपैयाँबाट बढेर ६ करोड ३७ लाख रुपैयाँ पुगेको छ। खर्च बढे पनि आम्दानीको वृद्धिदर उच्च हुँदा सञ्चालन नाफा उल्लेखनीय रूपमा सुधारिएको देखिन्छ। गत आवको पुस मसान्तसम्म २ करोड २१ लाख रुपैयाँ रहेको सञ्चालन नाफा चालू आवको सोही अवधिमा बढेर ३ करोड ८५ लाख रुपैयाँ पुगेको छ।
कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) पनि उल्लेखनीय रूपमा सुधारिएको छ। गत आवको पुस मसान्तसम्म २५.३२ रुपैयाँ रहेको ईपीएस चालू आवको सोही अवधिमा बढेर ५१.८७ रुपैयाँ पुगेको छ। यद्यपि, खराब कर्जा ९एनपीएल० भने १.७४ प्रतिशतबाट बढेर ३.१७ प्रतिशत पुगेको छ।
हाल कम्पनीको चुक्ता पूँजी १२ करोड २४ लाख रुपैयाँ रहेको छ। जगेडा कोषमा ४ करोड ४० लाख रुपैयाँ र रिजर्भ कोषमा करिब साढे ६ करोड रुपैयाँ सञ्चित छ। कम्पनीको प्रतिशेयर नेटवर्थ १८९.०१ रुपैयाँ रहेको वित्तीय विवरणमा उल्लेख छ।
प्रतिक्रिया