झापा : पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत काकरभिट्टा–लौकही खण्डमा सञ्चालन भइरहेको सडक विस्तार तथा सुधार कार्य(एसिएन हाइवे निर्माण)का क्रममा अवाञ्छित गतिविधि बढ्दै गएपछि आवश्यक शान्ति सुरक्षा व्यवस्था मिलाइदिन सम्बन्धित निकायसँग आग्रह गरिएको छ ।
एभ्रास्कोन/कालिका संयुक्त उद्यम (JV) द्वारा एशियाली विकास बैंक (ADB) को ऋण सहयोग तथा नेपाल सरकारको सहकार्यमा सञ्चालन भइरहेको SASEC Highway Enhancement Project (SHEP) अन्तर्गत प्याकेज–१ (CH: 0+000 – CH: 45+000) मा सडक विस्तार तथा सुधार कार्य तीव्र रूपमा अघि बढिरहेको छ ।
आयोजनाका क्रममा निर्माण सामग्रीको ढुवानी, भारी मेसिनरी उपकरणको सञ्चालन तथा कार्यस्थलमा मजदुर र प्राविधिकहरूको आवतजावत बढिरहेको अवस्थामा केही स्थानमा बाह्य व्यक्तिहरूको अवाञ्छित गतिविधिका कारण काममा अवरोध सिर्जना भएको आयोजनाले जनाएको छ । त्यस्ता गतिविधिका कारण निर्माण सामग्रीमा क्षति पुग्ने, कामदारको व्यक्तिगत सुरक्षामा जोखिम बढ्ने तथा समग्र निर्माण कार्य प्रभावित हुने अवस्था देखिएको छ ।
यस्ता घटनाले आयोजनाको कार्यतालिकामा प्रत्यक्ष असर पर्नुका साथै राष्ट्रिय गौरवको आयोजनाको समयमै सम्पन्नतामा चुनौती थपिएको भन्दै आयोजना क्षेत्रभित्र तथा आसपासका संवेदनशील स्थानहरूमा समुचित शान्ति सुरक्षा व्यवस्था मिलाइदिन माग गरिएको छ ।
संयुक्त उद्यमले निर्माण सामग्री तथा उपकरणको सुरक्षा, मजदुर र प्राविधिकहरूको व्यक्तिगत सुरक्षा, अवाञ्छित गतिविधि नियन्त्रण तथा निर्माण कार्यलाई निर्वाध रूपमा सञ्चालन गर्न सम्बन्धित सुरक्षा निकायमार्फत प्रभावकारी सुरक्षा व्यवस्था आवश्यक रहेको स्पष्ट पारेको छ ।
एभ्रास्कोन/कालिका संयुक्त उद्यमले स्थानीय निकाय, प्रहरी प्रशासन तथा आम नागरिकको सहकार्यबाट मात्र यो महत्वपूर्ण राष्ट्रिय आयोजना सुरक्षित, गुणस्तरीय र समयमै सम्पन्न गर्न सकिने विश्वास व्यक्त गरेको छ ।
प्रतिक्रिया