काठमाडौं : राष्ट्रियसभा सदस्यका लागि आइतबार सम्पन्न निर्वाचनमा नेकपा एमाले–नेपाली कांग्रेस गठबन्धनका उम्मेदवारहरू विजयी भएका छन् ।
कोशी प्रदेशमा कांग्रेसका सुनिलबहादुर थापा यसअघि नै निर्विरोध निर्वाचित भएका थिए । निर्वाचनपछि एमालेका सोमनाथ पोर्तेल र रोशनी मेचे राष्ट्रियसभा सदस्यमा विजयी भएका छन् ।
मधेश प्रदेशमा महिला क्लस्टरतर्फ एमालेकी रेखा झा, अल्पसंख्यक क्लस्टरमा कांग्रेसका रञ्जित कर्ण, दलित क्लस्टरमा कांग्रेसका धर्मेन्द्र पासवान र अन्य समूहमा महन्थ ठाकुर विजयी भएका छन् ।
बागमती प्रदेशबाट महिला क्लस्टरमा कांग्रेसकी गीता देवकोटा र अन्य क्लस्टरमा एमालेका डा. प्रेमप्रसाद दंगाल निर्वाचित भएका छन् ।
गण्डकी प्रदेशमा अन्य समूहबाट कांग्रेसका जगत तिमिल्सिना र महिलातर्फ एमालेकी सम्झना देवकोटा विजयी भएका छन् ।
लुम्बिनी प्रदेशमा महिलातर्फ एमालेकी रामकुमारी झाँक्री, अपाङ्गता समूहबाट कांग्रेसका बासुदेव घिमिरे र अन्य समूहबाट कांग्रेसकै चन्द्रबहादुर केसी निर्वाचित भएका छन् ।
कर्णाली प्रदेशमा अन्य क्लस्टरबाट कांग्रेसका ललितजंग शाही र महिलातर्फ एमालेकी मिनासिंह रखाल विजयी भएका छन् ।
सुदूरपश्चिम प्रदेशमा महिलातर्फ एमालेकी लीला भण्डारी र खुल्ला समूहबाट कांग्रेसका खम्मबहादुर खाती राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका छन् ।
निर्वाचन आयोगका अनुसार राष्ट्रियसभा निर्वाचनमा सातै प्रदेशमा गरी ९५ दशमलव ६८ प्रतिशत मत खसेको छ ।
कुल २ हजार ११ मतदाता रहेकामा १ हजार ९ सय २४ मत खसेको छ ।
प्रतिक्रिया