कोशी प्रदेशबाट राष्ट्रियसभामा झापाका दुई अनुहार, निर्वाचित भएपछि के भन्छन् पोर्तेल र मेचे ?

आइतबार, ११ माघ २०८२

विराटनगर : कोशी प्रदेशबाट संघीय संसद्को माथिल्लो सदन राष्ट्रियसभामा झापाका दुई प्रतिनिधि निर्वाचित भएका छन् । दलिततर्फ नेकपा एमालेका सोमनाथ पोर्तेल र अल्पसंख्यक समूहअन्तर्गत रोशनी मेचे राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका हुन् ।

आइतबार सम्पन्न निर्वाचनमा दलिततर्फका उम्मेदवार पोर्तेलले ७ हजार ४ सय २३ मतभार प्राप्त गर्दै राष्ट्रियसभाको यात्रा तय गरे । कांग्रेस–एमाले–जसपा गठबन्धनको समर्थनमा उम्मेदवार बनेका उनी झापाको हल्दिबारी स्थायी बासिन्दा हुन् । पोर्तेल लामो समयदेखि एमाले संगठन र दलित आन्दोलनमा सक्रिय रहँदै आएका नेता हुन् ।

पोर्तेलको राजनीतिक यात्रामा ‘४७’ अंक विशेष संयोगका रूपमा जोडिएको छ । उनले २०४७ सालमै अनेरास्ववियुबाट राजनीति सुरु गरेका थिए भने अहिले ४७ वर्षकै उमेरमा राष्ट्रियसभा सदस्य बनेका छन् । यसअघि उनले २०७४ पछि जिल्ला समन्वय समिति झापाको प्रमुखको जिम्मेवारीसमेत सम्हालेका थिए ।

एमालेका विभिन्न तह पार गर्दै हाल प्रदेश कमिटी सदस्य रहेका पोर्तेल २०५१ सालदेखि उत्पीडित समुदायको आन्दोलनमा सक्रिय छन् । उनी मुक्ति समाज नेपालको उपमहासचिवसमेत हुन् । राष्ट्रियसभामा प्रदेश र स्थानीय तहको सशक्तिकरणलाई पहिलो प्राथमिकता बनाउने उनको भनाइ छ ।
‘राष्ट्रियसभाको मूल दायित्व प्रदेश र स्थानीय तहको आवाज केन्द्रसम्म पु¥याउनु हो,’ पोर्तेलले भने, ‘उत्पीडित, पिछडिएका र अल्पसंख्यक वर्गका अधिकारका पक्षमा निरन्तर बोल्नेछु।’

अल्पसंख्यक समूहअन्तर्गत निर्वाचित रोशनी मेचे पनि झापाकै प्रतिनिधि हुन् । झापाको धाइजन स्थायी बासिन्दा ४३ वर्षीया मेचेले ६४ जना प्रदेशसभा सदस्य र १९९ जना स्थानीय तहका जनप्रतिनिधिको मत प्राप्त गर्दै राष्ट्रियसभा सदस्यमा निर्वाचित भएकी हुन् । उनले कूल ७ हजार १७३ मतभार प्राप्त गरिन् ।

झापामै ऐतिहासिक बसोबास रहेको मेचे समुदायकी प्रतिनिधि मेचे यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालय सदस्यका रूपमा सिंहदरबार पुगिसकेकी थिइन् । यसपटक भने उनी निर्वाचित सांसदको हैसियतमा माथिल्लो सदन प्रवेश गरेकी छन् ।

पत्रकारिता पृष्ठभूमिबाट राजनीतिमा आएकी मेचे हाल गोरखापत्र संस्थानमा कार्यरत छिन् । उनी मेचे भाषामा समाचार संयोजन गर्दै आएकी छन् । राष्ट्रियसभामा भाषा, शिक्षा र रोजगारीलाई मुख्य एजेन्डा बनाउने तयारीमा रहेकी मेचेले अल्पसंख्यक समुदायका मुद्दा नीति निर्माणको तहसम्म पु¥याउने प्रतिबद्धता व्यक्त गरेकी छन् ।

‘भाषा र संस्कृति जोगिनु नै विविध नेपालको आधार हो,’ उनले भनिन्, ‘अल्पसंख्यक समुदायका सवाल नीति निर्माणको केन्द्रसम्म पुर्‍याउनेछु।’

प्रतिक्रिया

सुरेन्द्र भण्डारी
लेखकको बारेमा
सुरेन्द्र भण्डारी
जिल्ला संवाददाता

विगत २ दशक अघिदेखि पत्रकारितामा सक्रिय भण्डारी झापामा रहेर प्रदेश खबरका लागि जिल्ला संवाददाताका रूपमा कार्यरत छन ।

सम्बन्धित समाचार