कृषि विकास बैंकमा कार्यरत कर्मचारी संघको ८ औँ केन्द्रीय परिषद् भेला बिराटनगरमा हुँदै

७७ जिल्लाबाट ८ सय प्रतिनिधि सहभागी हुने

मंगलबार, ०९ मंसिर २०८२

बिराटनगर : बिराटनगरमा मङ्सिर ११ गतेदेखि सुरु हुने नेपाल वित्तीय संस्था कर्मचारी सङ्घ कृषि बिकाश बैंक लिमिटेड केन्द्रीय समितिको ८औँ केन्द्रीय परिषद् भेलाको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ।

कृषि विकास बैंकका कर्मचारीहरूको पेशागत हक–हितका लागि स्थापना गरिएको संघको परिषद् भेलामा देशका ७७ वटै जिल्लाबाट प्रतिनिधि तथा पर्यवेक्षकहरू सहभागी हुँदैछन्।

उनीहरूको आवास तथा भोजनको सम्पूर्ण व्यवस्थापन बिराटनगरमै मिलाइसकिएको नेपाल वित्तीय संस्था कर्मचारी संघका महासचिव रमेश कटवालले जानकारी दिए।

महासचिव कटवालका अनुसार हरेक २ वर्षमा हुने परिषद् भेलाबाट कर्मचारीका हक–हितका विषय, वित्तीय सुशासन, संस्थागत विधान तथा नीतिगत विषयमा विस्तृत छलफल हुनेछ।

बिराटनगरको कञ्चनजंगा पार्टी प्यालेसमा आयोजना हुने दुईदिने परिषद् भेलाको उद्घाटन नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले गर्ने छन्।

उद्घाटन सत्रमा नेपाली काँग्रेस कोशी प्रदेशका सभापति उद्धव थापा, पूर्व मुख्यमन्त्री केदार कार्की, मोरङ जिल्ला सभापति डिकबहादुर लिम्बु तथा पूर्व केन्द्रीय सदस्य गुरु घिमिरेलगायतको नेताहरुको उपस्थिति रहने कार्यक्रम संयोजक तथा संघका सचिव उमेशकुमार पौडेलले बताए।

महाधिवेशनमार्फत गत २ वर्षको कार्यसम्बन्धी समीक्षा, विधान संशोधन, नीतिगत तथा सङ्गठनात्मक निर्णयलगायतका महत्त्वपूर्ण एजेन्डामाथि गहन छलफल हुने सङ्घले जनाएको छ। भेलामा ७७ वटै जिल्लाबाट करिब ८ सय प्रतिनिधिको सहभागिता रहनेछ।

संघको बन्द–सत्रमा जिल्ला अध्यक्ष, सचिवदेखि लिएर प्रदेश सचिवसम्मका पदाधिकारीहरूले भाग लिन पाउनेछन्।

परिषद् भेलामा सहभागी हुन संघका केन्द्रीय अध्यक्ष रामबहादुर रावल, वरिष्ठ उपाध्यक्ष सिद्धिलाल मगिया सहितका पदाधिकारीहरू बिराटनगर आइपुगिसकेको कोशी प्रदेश अध्यक्ष मदन निरौलाले जानकारी दिए।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार