बिर्तामोड : नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कोशी प्रदेशका अभिकर्ताहरूलाई बिर्तामोडमा आयोजित विशेष समारोहबीच सम्मान गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेशप्रसाद खत्रीको सभापतित्वमा सम्पन्न कार्यक्रममा सीईओ क्लब सदस्य सम्मान कार्यक्रम आयोजना गरिएको हो ।
आर्थिक वर्ष २०८१-८२ मा तोकिएको बीमाशुल्क संकलन लक्ष्य पूरा गरी कोशी प्रदेशबाट योग्य ठहरिएका ३०० जना अभिकर्ताहरूलाई सीईओ क्लब सदस्यका रूपमा सम्मान गरिएको कम्पनीले जनाएको छ । कार्यक्रममा विभागीय प्रमुखहरू, प्रदेश प्रमुख तथा कोशी प्रदेशअन्तर्गतका विभिन्न शाखा कार्यालयका शाखा प्रमुखहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
समारोहमा प्रमुख कार्यकारी अधिकृत खत्रीले सीईओ क्लब सदस्य बन्न सफल अभिकर्ताहरूलाई सदस्यता वितरण गर्दै सम्मान गरेका थिए । साथै,सो प्रदेशबाट आफ्नै कोड र सञ्जालमार्फत प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्न सफल अभिकर्ताहरूलाई विशेष सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो ।
यस अवसरमा कम्पनीको वार्षिक योजनाअन्तर्गत सञ्चालन गरिएको ‘नेशनल अवार्ड’ योजनाबाट छनोट भएका नेशनल रत्न तथा नेशनल स्टार विजेता अभिकर्ताहरूलाई नेशनल लाइफको लोगो अंकित चाँदीको मेडल, प्रमाणपत्र र खादाद्वारा सम्मान गरिएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै सीईओ खत्रीले सीईओ क्लब र नेशनल अवार्ड योजनाअन्तर्गत योग्य अभिकर्ताहरूलाई प्रदेशस्तरमै सम्मान गर्ने उद्देश्यअनुसार कोशी प्रदेशबाट छनोट भएका अभिकर्ताहरूलाई सम्मान गरिएको बताए । उनले नेपालभरबाट १ हजार ६ सयभन्दा बढी अभिकर्ता सीईओ क्लबका लागि छनोट हुनुले यो योजना अत्यन्त सफल र अभिकर्तामैत्री भएको स्पष्ट पारे ।
‘कम्पनी सबै तहका अभिकर्ताहरूलाई प्रेरित गर्ने, प्रतिस्पर्धात्मक र लोकप्रिय योजनाहरू ल्याउन निरन्तर प्रयासरत छ,’ खत्रीले भने ।
समारोहमा चर्चित अन्तर्राष्ट्रिय प्रशिक्षक सैयद अफजल अहमदले मोटिभेसनल तालिम प्रदान गरेका थिए । तालिमपछि सहभागी अभिकर्ताहरूले यसले आफूहरूलाई थप ऊर्जा र उत्साह दिएको प्रतिक्रिया दिएका छन् । साथै, आफ्नै कार्यक्षेत्रमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतबाट सम्मान ग्रहण गर्न पाउँदा गर्व महसुस भएको उनीहरूको भनाइ थियो ।
प्रतिक्रिया