चन्द्रपुर (रौतहट) : रौतहट क्षेत्र नं. १ मा आगामी प्रतिनिधि सभा निर्वाचनमा कडा प्रतिस्पर्धा हुने देखिन्छ। प्रमुख राजनीतिक दलले गठबन्धन नगरी आफ्नै उम्मेदवार अघि सारेका छन्।
यस क्षेत्रमा नेपाली कम्युनिस्ट पार्टीबाट पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल, नेपाली कांग्रेसबाट अनिलकुमार झा, नेकपा (एमाले) बाट अजयकुमार गुप्ता, राष्ट्रिय स्वतन्त्र पार्टीबाट राजेशकुमार चौधरी, जनता समाजवादी पार्टी नेपालबाट योगेन्द्र यादवसहित ३९ जनाले उम्मेदवारी दर्ता गराएका छन्। यस्तै २० जना स्वतन्त्र उम्मेदवार छन्।
२०७९ सालको निर्वाचनमा कांग्रेससँगको गठबन्धनको फाइदा उठाउँदै सहज जित हासिल गरेका नेपाललाई यसपटक सहज देखिँदैन। तत्कालीन नेकपा (एस) का उम्मेदवार नेपाल २०७९ मा एमालेका उम्मेदवार गुप्तालाई छ हजार छ सय मतान्तरले पराजित गर्दै तेस्रो पटक यस क्षेत्रबाट सांसद निर्वाचित भएका थिए।
पूर्वप्रधानमन्त्री नेपालले क्षेत्रका स्थानीय तीन पालिका प्रमुख र ४१ वडामध्ये २९ वडाध्यक्ष नेपाली कम्युनिस्ट पार्टीकै रहेको उल्लेख गर्दै आफ्नो जित बलियो रहेको दाबी गरेका छन्। तर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जली योगपीठ सम्बन्धी मुद्दा चलाइरहेको र सांसद पद निलम्बनमा रहेकाले उम्मेदवारको जीतमा प्रभाव पर्ने सम्भावना छ।
कांग्रेसका उम्मेदवार झा २०७४ सालमा राजपाबाट उम्मेदवार भएर कांग्रेसका कृष्णप्रसाद यादवलाई पराजित गरेका थिए। आफू कांग्रेसबाट उम्मेदवार बनेको र क्षेत्रका दुई पालिका प्रमुख, प्रदेशका मुख्यमन्त्री र छिमेकी जिल्लाबाट कांग्रेस नेताको प्रभाव रहने उल्लेख गर्दै झाले जित्ने दाबी गरेका छन्।
एमालेका गुप्ता क्षेत्रको बलियो संगठन र जनता केन्द्रित राजनीतिक सक्रियताको आधारमा आफू सर्वाधिक लोकप्रिय उम्मेदवार रहेको विश्वास व्यक्त गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका चौधरी र जनता समाजवादी पार्टीका यादव पनि क्षेत्रीय अनुभव र जनसमर्थनको आधारमा बलियो उम्मेदवार रहेको दाबी गरेका छन्।
यस निर्वाचन क्षेत्रमा एक लाख ८ हजार ७२६ मतदाता रहेका छन्। ६७ वटा मतदान स्थल र १३२ मतदान केन्द्र कायम गरिएको छ। बागमती र लालबकैया नदीको बाढी प्रभावित क्षेत्रलाई विकास, रोजगारी, कृषि, शिक्षा र स्वास्थ्यमा सुधारका योजना र सदरमुकाम गौर राइस मिलको खेलमैदान सार्वजनिकीकरण जस्ता नारा सबै उम्मेदवारले घोषणापत्रमा समेटेका छन्।
प्रतिक्रिया