उदयपुर : उदयपुरको चौदण्डीगढी नगरपालिका–४, बसाहामा जारी ११औँ संस्करणको नारदमुनि थुलुङ स्मृति गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत तेस्रो क्वार्टरफाइनल खेलमा न्यू त्रियुगा स्पोर्ट्स क्लब, सप्तरी ले नेपाल खेलकुद क्लब, रौतहट लाई ट्राइब्रेकरमा पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ।
शनिबार सम्पन्न खेलमा निर्धारित समयसम्म दुवै टोलीले गोलरहित बराबरी खेलेपछि खेलको निर्णय ट्राइब्रेकरमार्फत गरिएको थियो। ट्राइब्रेकरमा न्यू त्रियुगा स्पोर्ट्स क्लब, सप्तरीले नेपाल खेलकुद क्लब, रौतहटलाई २–१ गोल अन्तरले पराजित गर्दै विजय हासिल गरेको हो।
दुवै टोलीका पाँच–पाँच खेलाडीले प्रहार गरेका पेनाल्टीमध्ये सप्तरीका गोलकिपर सन्दीप भट्टराई ले दुई पेनाल्टी रोक्न सफल भए भने रौतहटका गोलकिपरले एक पेनाल्टी मात्र बचाउन सके।
खेल अवधिभर न्यू त्रियुगा स्पोर्ट्स क्लब, सप्तरीले आक्रामक खेल प्रस्तुत गर्दै निरन्तर दबाब सिर्जना गरे पनि रौतहटका रक्षक तथा गोलकिपरले सशक्त प्रतिरक्षा गर्दै खेललाई बराबरीमा रोक्न सफल भएका थिए। अन्ततः ट्राइब्रेकरमा सप्तरीले खेल आफ्नो पक्षमा पार्न सफल भयो।
उत्कृष्ट प्रदर्शनका लागि न्यू त्रियुगा स्पोर्ट्स क्लब, सप्तरीका गोलरक्षक सन्दीप भट्टराई ‘म्यान अफ दि म्याच’ घोषित भए। प्रतियोगिताअन्तर्गत आइतबार एपीएफ क्लब, काठमाडौं र एलयाक्स सिटी फुटबल क्लब, मोरङ बीच अन्तिम क्वार्टरफाइनल खेल हुने आयोजकले जनाएको छ।
प्रतिक्रिया