काठमाडाैं: कर्णाली याक्स कर्णाली याक्स नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको ‘प्लेअफ’ बाट बाहिरिने पहिलो टिम बनेको छ। मंगलबार कीर्तिपुरमा भएको खेलमा पोखरा एभेन्जर्सले कर्णालीलाई ३४ रनले पराजित गर्दै प्रतियोगितामा दोस्रो जित दर्ता गर्यो।
पोखराले टस जितेर पहिलो ब्याटिङ गर्दै २० ओभरमा २ विकेटमा २०१ रन बनायो। ओपनर रोसिङ्टनले ५८ बलमा अविजित १०८ रनको शानदार शतक प्रहार गर्दै टिमलाई सशक्त स्थितिमा पुर्याए। उनको साथमा जासन रोयले ४६ रन थपे। यो स्कोर एनपीएल–२ को दोस्रो सबैभन्दा ठूलो योगफल बनेको हो।
जवाफमा कर्णाली १९ ओभरमा १६७ रनमै समेटियो। ओपनर मार्क वाटले ३४ बलमा ५९ रनको अर्धशतक खेले पनि अन्य ब्याटरले साथ दिन नसकेपछि टिम पराजित भयो। पोखराका ऋषि धवन र धनञ्जय लक्षणले ३/३ विकेट लिए।
यो जितसँगै पोखरा एभेन्जर्सले पाँच खेलमा दोस्रो जित निकालेको छ। छैटौँ खेल खेलेको कर्णालीको यो पाँचौँ हार हो र सोहीसँगै कर्णाली ‘प्लेअफ’मा पुग्नबाट बाहिरिएको छ।
प्रतिक्रिया