जनता क्याम्पसमा पाँच करोड रुपैयाँमा छात्रावास निर्माण हुँदै, ६९ विद्यार्थीलाई छात्रवृत्ति प्रदान

विहीबार, १५ माघ २०८२

इटहरी : सुनसरीको इटहरीमा रहेको जनता बहुमखी क्याम्पसमा पाँच करोडको लागतमा छात्रावास निर्माण हुने भएको छ । संघीय सरकारको बहुबर्षीय योजना अन्तर्गत बजेटबाट छात्रावास भवन निर्माण गरिने भएको हो । 

संघीय सरकारले चालु आर्थिक वर्षको बजेटमा बहुवर्षीय योजना अन्तर्गत बजेट छुट्याएर पहिलो किस्ताको रकम निकासा गरेसँगै निर्माणको प्रक्रिया सुरु गरिएको छ । क्याम्पसको १३ औं परिषदसभा उद्घाटन समारोहमा विहीबार क्याम्पस सञ्चालक समितिका अध्यक्ष विकास केसीले नक्सा पास भइ माटो परीक्षण गरेर छात्रावास निर्माणका लागि ठेक्काको प्रक्रियामा गएको जानकारी गराए ।

 छात्रावास निर्माणका लागि पहिलो चरणमा एक करोड ४२ लाखको काम सुरु हुन लागेको समेत अध्यक्ष केसीले बताए  । छात्राबास निर्माण भएसँगै पूर्वी पहाडी जिल्ला र मधेश प्रदेशबाट आउने छात्राहरुलाई डेरा बस्नुपर्ने बाध्यता अन्त्य हुने समेत अध्यक्ष केसीले विश्वास व्यक्त गरे । 

पछिल्लो अढाई वर्ष यता क्याम्पसमा पढ्ने आउने विद्यार्थीका लागि सात वटा वस सेवा पनि सञ्चालन गरि विद्यार्थीलाई निःशुल्क सेवा प्रदान गर्दै आएको क्याम्पसको परिषदसभामा जानकारी राइयो । बस सेवा सञ्चालनमा ल्याएपछि सुनसरीको बराहक्षेत्र, दुहवी, इनरुवासहित पूर्व मोरङ्कको विराटचोससम्मका विद्यार्थीलाई सहजता भएको छ । इटहरीभर विद्यार्थीलाई पनि थप सुविधा भएको  छ ।

विश्वविद्यालय अनुदान आयोगमार्फत एक करोड रुपैयाँ अनुदान ल्याएर क्याम्पसको मुल भवनभन्दा पछाडि थप भवन निर्माण गरिएको छ । भौतिक पूर्वाधारतर्फ कोशी प्रदेश सरकारको २५ लाख लगानीमा कम्पाण्ड वाल निर्माण, स्ववियू भवन निर्माण, इ ब्लकको दोस्रो तल्ला पूर्ण रुपमा र तेस्रो तलाको छत निर्माण भएको छ । यस्तै,  विद्यार्थीलाई खानेपानीका लागि फिल्टरको व्यवस्था, सिसि क्यामेरा जडान, इ हाजिरी, प्रविधिमैत्री कक्षा सञ्चालनका लागि स्मार्ट बोर्ड खरीदलगायतका महत्वपूर्ण कार्य भएको अध्यक्ष केसीले जानकारी गराए ।  

केसी नेतृत्वको टीमले विषय विभागलाई व्यवस्थित गर्न दस थान कम्प्यूटर खरीद र इन्टरनेटको पहुँच विस्तार गर्न रिपिटरको व्यवस्था गरेको छ । उनकै नेतृत्वले पोखरी सुधार, ड्रेनेज निर्माण, क्याम्पसमा नर्सको व्यवस्था, जर्नल प्रकासन, मुख्य विषय अग्रेजी लिएका विद्यार्थीका लागि सम्मेलनको आयोजना र क्याम्पसको कामलाई चुस्त दुरुस्त बनाउन सफ्टवेयर खरीद गरेर सञ्चालन गरेको छ । 

क्याम्पसले छ महिनाअघि विदेशी दुईवटा प्रतिष्ठित विश्वविद्यालयसँग सम्झौता समेत गरेको थियो । जसमा भारतको हरियाणमा रहेको बाबा मस्तनाथ र भारतकै राजस्थानमा रहेको श्री जे जे टि विश्वविद्यालयसँग सम्झौता गरेको थियो । सो सम्झौतापछि पुस ५ र ६ गते दुई दिने अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन समेत गरेको थियो । 

६९ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण

क्याम्पसको परिषदसभा उद्घाटनका क्रममा ६९ जना विद्यार्थीलाई एक लाख ९७ हजार ३५० रुपैेयाँको छात्रवृत्ति पनि वितरण गरियो । जसमा २० जना दाताले अक्षयकोषमा राखेको रकमबाट ब्याज र यूजिसी कार्यक्रम अन्तर्गत प्राप्त रकमबाट विभिन्न शंकायमा उत्कृष्ट, जेहेन्दार, गरिव, दलित तथा असहाय विद्यार्थीलाई रकम वितरण गरिएको क्याम्पस प्रमुख डा.गीता अधिकारीले बताइन् । साथै, यसै वर्षदेखि थप दुई जना दाताले अक्षयकोष स्थापना गरेका छन् । 

विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्नकै लागि इटहरीका उद्योगी व्यापारी भिमबहादुर पौडेलले विहीबार नै ५१ लाख रुपैयाँको चेक सञ्चालक समितिका अध्यक्ष केसी र क्याम्पस प्रमुख अधिकारीलाई हस्तान्तरण गरिएको छ । अब आगामी वर्षदेखि ठूलो संख्यामा विद्यार्थीलाई लाभ पुग्नेछ । व्यापारी पौडेलले पुस ५ गते जनता क्याम्पसले आयोजना गरेको अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन उद्घाटनका क्रममा अक्षयकोष स्थापना गर्ने घोषणा गरेका थिए ।  

सोही क्रममा कर्मचारीमध्ये यामनाथ पौडेललाई नगदसहित सम्मान गरियो । भर्खरै सकिएको इटहरी उपमहानगरस्तरीय राष्ट्रपति रनिङ् शिल्डमा भलिवलतर्फ विजयी भएका छात्रलाई सम्मान पनि गरियो । यस्तै, एक महिनाअघि भएको अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलनमा आर्थिक सहयोग गर्ने दातालाई कदरपत्र समेत प्रदान गरियो ।

क्याम्पसको परिषदसभा उद्घाटनका क्रममा इटहरी उपमहानगरपालिका प्रमुख हेमकर्ण पौडेलले अबको प्रतिनिधीसभाको निर्वाचनमा देश बनाउने एजेन्डा भएका नेतालाई चयन गर्नुपर्ने राय राखे । उनले सुल्झाए, ‘अब चुनावमा प्रतिस्पर्धा गर्ने व्यक्तिसँग देश बदल्ने संकल्प, सिद्दान्त अनि भ्रष्टाचार अन्त्य संकल्प सवै कुरा सोधीखोजी गरेर चित्तबुझदो व्यक्तिलाई मतदान गर्नुपर्र्छ ।’ 

विश्वविद्यालय अनुदान आयोग नेपालबाट गुणस्तर सुनिश्चितता प्रत्यायानको प्रमाणपत्र प्राप्त गर्न सफल जनता क्याम्पसमा स्नातक तहमा बिएड, बिबिएस, बिए, बिआइसिटिई तथा स्नातकोत्तरतर्फ एमएडसँगै एमबिएसका शैक्षिक कार्यक्रम सञ्चालन गरेको छ । कक्षा ११ र १२ का शैक्षिक कार्यक्रम पनि सञ्चालन गरेको छ । यहाँ पाँच हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन् । 
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार