कोशी प्रदेशसभा भवन तयार नहुँदा मासिक ८ लाख तिरेर वीरेन्द्र सभागृह भाडामा

विहीबार, १५ माघ २०८२

विराटनगर : कोशी प्रदेशको प्रदेशसभा भवन अझै तयार नहुँदा आगामी हिउँदे अधिवेशन विराटनगरस्थित वीरेन्द्र सभागृहमा सञ्चालन हुने भएको छ । कोशी प्रदेशको प्रदेशसभा अधिवेशन माघ २५ गतेका लागि आह्वान गरिएको छ ।

प्रदेश मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकको सिफारिसपछि प्रदेश प्रमुख पर्शुराम खापुङले माघ २५ गतेदेखि विराटनगरको वीरेन्द्र सभागृहमा प्रदेशसभाको हिउँदे अधिवेशन आह्वान गरेका हुन् ।

गत भदौ २४ गते जेनजी आन्दोलनको आवरणमा अराजक समूहले आगजनी र तोडफोड गर्दा प्रदेशसभा भवन र सचिवालय पूर्ण रूपमा ध्वस्त भएका थिए । त्यसपछि प्रदेशसभा र सचिवालय विराटनगरसँगै जोडिएको कटहरीस्थित कृषि बजारको भवनमा सारिएको थियो ।

तर, सारिएको स्थानमा प्रदेशसभा सञ्चालनका लागि आवश्यक संरचना तयार नहुँदा अस्थायी रूपमा वीरेन्द्र सभागृह प्रयोग गर्न लागिएको प्रदेशसभा सचिवालयका सचिव सुदर्शन खड्काले जानकारी दिए । उनका अनुसार प्रदेशसभाको बैठक कक्ष निर्माणका लागि ठेक्का प्रक्रियामा रहेको छ । नयाँ संरचना निर्माण सम्पन्न नभएसम्म वीरेन्द्र सभागृहबाटै बैठक सञ्चालन गरिनेछ ।

प्रदेशसभाको बैठक सञ्चालनका लागि मासिक ८ लाख रुपैयाँ भाडा तिर्ने गरी वीरेन्द्र सभागृह ६ महिनाका लागि लिने तयारी गरिएको छ । यसअनुसार प्रदेश सरकारले विराटनगर महानगरपालिकालाई ६ महिनाको भाडा बापत ४८ लाख रुपैयाँ तिर्नेछ । यो रकम दैनिक करिब २६ हजार ६ सय ६७ रुपैयाँ पर्न आउँछ ।

सचिव खड्काका अनुसार महानगरपालिकासँग भाडा सम्झौता भने अझै औपचारिक रूपमा भइसकेको छैन । ६ महिनाका लागि सम्झौता गर्ने तयारी भइरहेको उनले बताए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार