एनपीएलमा आज विराटनगर किंग्स र लुम्बिनी लायन्स भिड्दै

बुधबार, १७ मंसिर २०८२

विराटनगर : दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को २२औँ खेलमा विराटनगर किंग्स र लुम्बिनी लायन्स भिड्दै छन्। यो खेल बुधवार दिउँसो ४ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुँदै छ।

सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगरले पाँच खेल खेलेको छ र ८ अङ्कसहित तेस्रो स्थानमा रहेको छ। रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पनि पाँच खेल खेलेको छ तर ४ अङ्कसहित छैटौँ स्थानमा छ।

आजको खेलमा विजयी भए विराटनगर एक खेल बाँकी छँदै प्लेअफमा पुग्नेछ। प्लेअफको दौडमै रहन लुम्बिनीले अनिवार्य रूपमा आजको खेल जित्नै पर्ने दबाब छ।

२१ खेल सकिँदा अङ्क तालिका रोचक बनेको छ। अङ्क तालिकामा अपराजित सुदूरपश्चिम १० अङ्कसहित प्लेअफमा पुगिसकेको छ।

एक खेल मात्र खेल्न बाँकी रहेको काठमान्डु गुर्खाजले दुई खेल गुमाएर ८ अङ्क बनाएको छ। पाँच खेलमा एक खेल मात्र गुमाएको विराटनगरको पनि समान ८ अङ्क रहेको छ। रनरेटका आधारमा काठमाडौँ दोस्रो र विराटनगर तेस्रो स्थानमा छन्।

पोखरा एभेन्जर्स ४ अङ्कसहित चौथो स्थानमा छ भने समान खेल खेलेका चितवन राइनोज र लुम्बिनी लायन्स दुवैका ४–४ अङ्क छन्। कर्णाली याक्स र जनकपुर बोल्टसका २–२ अङ्क छन्। ६ खेल खेलिसकेको कर्णाली सातौँ स्थानमा छ भने तालिकाको पुछारमा रहेको जनकपुरले दुई खेल खेल्न बाँकी छ।

एनपीएल दोस्रो सिजनका सबै खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो र राति गरेर भइरहेका छन्। नेपाल क्रिकेट सङ्घ (क्यान) ले हरेक खेलका लागि नौ हजार चार सय पचास टिकट बिक्री गर्दै आएको छ। मङ्सिर १ देखि सुरु भएको एनपीएल २७ गतेसम्म सञ्चालन हुनेछ।

एनपीएलमा लिग चरण, तीन वटा प्लेअफ खेल र फाइनलसहित ३२ खेल हुँदै छन्। शनिवारका खेलका लागि टिकट मूल्य साधारणतर्फ ५ सय र प्रिमियमतर्फ १५ सय रुपैयाँ तोकिएको छ। लिग चरण तथा अन्य दिनका खेलका लागि टिकट मूल्य ५ सय र १ हजार निर्धारण गरिएको छ। प्लेअफपछिका खेलका लागि जनरलतर्फ १ हजार र प्रिमियमतर्फ २ हजार रुपैयाँ कायम गरिएको छ।

एनपीएलमा जनकपुर बोल्टस, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमान्डु गुर्खाज र लुम्बिनी लायन्स गरी आठ फ्रेन्चाइज टोली प्रतिस्पर्धामा छन्।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार