इटहरी : आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सुनसरी क्षेत्र नम्बर २ का नेपाली कांग्रेसका उम्मेदवार राजीव कोइरालाले घरदैलो अभियानलाई तीव्र बनाएका छन्।
चुनावी भाषणभन्दा प्रत्यक्ष संवाद र खुला बहसलाई प्राथमिकता दिएका कोइरालाले मतदातासँग विकासका एजेण्डामा केन्द्रित छलफल सुरु गरेका छन्।
इटहरी उपमहानगरपालिका–२ र ३ का विभिन्न टोलमा आयोजित भेटघाट कार्यक्रममा कोइरालाले आफ्नो राजनीतिक यात्राभन्दा पनि कोशी प्रदेश सांसद रहँदा तयार पारेका विकास योजनाहरू र तिनको कार्यान्वयन अवस्थालाई बहसको केन्द्र बनाए।
उनले आफूले अघि सारेका दीर्घकालीन योजनाहरू अधुरो अवस्थामा रोकिएकाले त्यसको निरन्तरताका लागि जनमत आवश्यक रहेको स्पष्ट पारे।
_D05sXM2UUJ.png)
“विकास योजना कागजमै सीमित राख्ने होइन, कार्यान्वयन गर्न सक्ने नेतृत्व चाहिन्छ,” कोइरालाले भने, “कसले काम गर्छ र कसले नारा मात्रै दिन्छ भन्ने निर्णय गर्ने अधिकार मतदाताकै हातमा छ।”
आफू ‘कुराभन्दा काम गर्ने’ नेताका रूपमा चिनिइसकेको दाबी गर्दै उनले अधुरा योजना पूरा गर्न पुनः अवसर दिन मतदातासँग आग्रह गरे। भेटघाटका क्रममा उनले सडक, पूर्वाधार, खानेपानी र सिँचाइलाई आफ्नो प्राथमिक एजेन्डा रहेको बताए।
इटहरी–२ अन्तर्गत हवाई चोकका मुसहरी टोल र इट्टा टोलका स्थानीयवासीले घरआँगनसम्म कालोपत्रे सडक पुगेको उल्लेख गर्दै अब सामुदायिक भवन, सुरक्षित खानेपानी र सिँचाइको दीर्घकालीन समाधान आवश्यक रहेको सुझाव दिएका थिए। साथै, विगतमा सुरु भएका केही योजना अलपत्र परेको गुनासो पनि स्थानीयले उठाएका थिए।
कोइरालाले भने, “म पदका लागि होइन, यहाँको सुख-दुःखमा साथ दिन र रोकिएका विकासका कामहरू पूरा गर्न चुनावी मैदानमा उत्रिएको छु।
मेरो इमानदारिता र कामप्रतिको लगावलाई हेरेर यसपालि मलाई आफ्नो आशीर्वाद प्रदान गर्नु हुने छ भन्ने बिश्वास लिएको छु।” उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने, क्षेत्रीय विकास र नवयुवाको परिवर्तनको आसालाई पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्दै मतदातालाई घरदैलोमा भेट्ने तयारी भइरहेको जानकारी दिए ।
_FjbB05EBqo.png)
_TWO5TgSwQu.png)
कोइरालाले मतदातासँग संवाद गर्दै लोकतन्त्रको रक्षा, विधिको शासन र आर्थिक समृद्धिको सङ्कल्पसहित आफ्नो उम्मेदवारी दर्ता गरेको बताएका छन् ।
उनले मतदातालाई आफ्नो उत्साह र पार्टीको नीतिलाई विश्वास गरी अमूल्य मत दिएर विजयी गराइदिन हार्दिक अनुरोध समेत गरेका छन् ।
स्थानीयको गुनासोलाई सम्बोधन गर्दै कोइरालाले कोशी प्रदेश सांसदको हैसियतमा आफूले रणनीतिक सडकका रूपमा अघि बढाएको दृढ प्रतिबद्धता व्यक्त गरे।
“रणनीतिक महत्त्व बुझेर सुरु गरिएको दामोदर मार्गलाई पछिल्लो सरकारले बजेटविहीन बनाएर अलपत्र पारेको कुरा यहाँका नागरिक जानकार नै हुनुहुन्छ,” उनले भने, “अब यो सडक निर्माणको जिम्मेवारी म स्वयं लिन्छु।”
_hmuR58Cm5E.png)
कोइराला २०७४ सालको निर्वाचनमा सुनसरी–२ (ख) बाट निर्वाचित भएका थिए। उनले नेकपा एमालेका रामप्रसाद मेहतालाई पराजित गर्दै कोशी प्रदेशसभा सदस्य बनेका थिए। कोइराला नेपाली काँग्रेसको प्रदेशसभा दलका नेता पनि बनेका थिए।
कोइराला सुनसरी जिल्लामा दुई पटक पार्टी सभापति निर्वाचित भइसकेका छन्। तर, २०७९ सालको निर्वाचनमा उनी रामप्रसाद मेहतासँग पराजित भएका थिए। हाल उनी नेपाली काँग्रेसका केन्द्रीय सदस्यका रूपमा रहेका छन्।
१२ औँ महाधिवेशन र १३ औँ महाधिवेशनबाट पार्टी सभापति बनेका थिए। २०३६ सालको विद्यार्थी आन्दोलनपश्चात् राजनीतिमा सक्रिय भएका उनी २०१९ सालमा सुनसरीको चाँदबेलामा जन्मिएका हुन्। कोइराला इनरुवा १ नम्बर वडाका निवासी हुन्।
प्रतिक्रिया