काठमाडौं : देशभर प्रतिनिधिसभा निर्वाचनका लागि राजनीतिक दल तथा उम्मेदवारले आक्रामक प्रचार गरिरहँदा काठमाडौं उपत्यका भने सुनसानप्रायः देखिएको छ ।
विगतमा चुनावी माहोल संघीय राजधानीकेन्द्रीत हुँदा जिल्लाका गतिविधि तुलनात्मक रूपमा कमजोर देखिन्थे । तर, यसपटक ‘हेभिवट’ उम्मेदवार राजधानीबाहिरबाट प्रतिस्पर्धामा उत्रिएको र राजधानीवासीमा चुनावी मोह कमजोर बन्दा बाहिरी माहोल तातेको नेता स्वयं स्वीकार्छन् ।
विगतका आमनिर्वाचनमा पार्टीका प्रमुख तथा शीर्षनेता, पूर्वप्रधानमन्त्री, सभामुखलगायतका कारण चर्चामा रहने काठमाडौं उपत्यकामा यसपटक ‘हेभिवेट’ उम्मेदवार कम छन् ।
कांग्रेस महामन्त्री प्रदीप पौडेलले काठमाडौं क्षेत्र–५ र सहमहामन्त्री उदय शमशेर राणाले ललितपुर क्षेत्र–१ बाट उम्मेदवारी दिएका छन् । यसबाहेक कांग्रेसबाट ‘हेभिवेट’ उम्मेदवार छैनन् । कांग्रेसले उपत्यकाका अधिकांश निर्वाचन क्षेत्रमा विगतमा परीक्षण नभएका नयाँ अनुहार अघि सारेको छ ।
नेकपा एमालेबाट अध्यक्षमा प्रतिस्पर्धा गरेका ईश्वर पोखरेल काठमाडौं क्षेत्र–५ मा उम्मेदवार छन् भने एमालेले उपत्यकामा दुई पदाधिकारीमात्र उपत्यकामा उम्मेदवार बनाएको छ । भक्तपुर क्षेत्र–२ मा सचिव महेश बस्नेत र काठमाडौं क्षेत्र–४मा सचिव राजन भट्टराईलाई एमालेले उम्मेदवार बनाउँदा अन्य सबै नयाँ अनुहार छन् ।
रास्वपा उपसभापति डीपी अर्यालले काठमाडौं क्षेत्र–९, राप्रपा वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले काठमाडौं क्षेत्र–१ र काठमाडौं क्षेत्र–२ बाट कुन्तीदेवी पोखरेलले उम्मेदवारी दिएका छन् ।
उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले काठमाडौं क्षेत्र–३ र उपाध्यक्ष जितराम लामा भक्तपुर क्षेत्र–२ बाट उम्मेदवार छन् । यो पार्टीले पनि पार्टीका अन्य पदाधिकारी र चर्चित नेतालाई उपत्यकाबाहिरैबाट प्रतिस्पर्धामा उतारेको छ ।
चर्चित र वरिष्ठले छाडे उपत्यका
पूर्वप्रधानमन्त्री तथा नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ २०६४ र २०७० सालमा काठमाडौं क्षेत्र–१० बाट प्रतिस्पर्धा गरे । तर, यसपटक उनी रुकुमपूर्व पुगेका छन् ।
काठमाडौं क्षेत्र–२ बाट चुनाव लड्ने गरेका नेकपा सहसंयोजक माधवकुमार नेपाल पनि रौतहट क्षेत्र–१बाट उम्मेदवार भएका छन् ।
काठमाडौं क्षेत्र–४ बाट विगतमा दुईवटा चुनाव जितेका कांग्रेस सभापति गगनकुमार थापा यस पटक सर्लाही क्षेत्र–४ बाट प्रतिस्पर्धा गर्दै छन् ।
अध्यक्षदेखि पूर्वसभामुखसम्मले छाडे उपत्यका काठमाडौं
क्षेत्र–२ बाट चुनाव लडेकी ओनसरी घर्ती, ललितपुर क्षेत्र–३ बाट चुनाव लड्ने पम्फा भुसाल, काठमाडौं क्षेत्र–८ बाट चुनाव लड्ने अष्टलक्ष्मी शाक्य, काठमाडौं क्षेत्र–७ बाट चुनाव लड्ने हिसिला यमी, भक्तपुर क्षेत्र–१ बाट चुनाव लड्ने नारायणमान बिजुक्छेलगायत नेता उम्मेदवार छैनन् ।
भुसाल र शाक्यले यसपटकबाट चुनाव नलड्ने घोषणा गरेका हुन् । २०६४ र २०७० सालको प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं क्षेत्र–६ मा पराजित योगेश भट्टराई, ललितपुर क्षेत्र–३ बाट पटकपटक जितेका रघुजी पन्त, काठमाडौं क्षेत्र–९ बाट जितेका कृष्णगोपाल श्रेष्ठलगायतलाई यसपटक एमालेले उम्मेदवार नै बनाएन ।
काठमाडौं क्षेत्र–१ बाट चुनावी प्रतिस्पर्धा गर्नै कांग्रेस नेता प्रकाशमान सिंहसहित विगतमा प्रतिस्पर्धा गर्ने अधिकांश नेता आसन्न निर्वाचनमा उम्मेदवार हुनबाटै छुटेका छन् ।
यस्ता छन् उपत्यकाका प्रतिस्पर्धी
कांग्रेस नेता प्रकाशमान सिंहको क्षेत्र भनेर चिनिने काठमाडौं क्षेत्र–१मा कांग्रेसले यसपटक प्रवल थापा क्षेत्रीलाई उम्मेदवार बनाएको छ । यस क्षेत्रमा विवेकशील पार्टीलाई रास्वपामा एकीकरण गरेर प्रत्यक्षमा उम्मेदवार बनेकी रञ्जु दर्शना, राप्रपाका नेता रविन्द्र मिश्रलगायतले उम्मेदवारी दिएका छन् ।
काठमाडौं क्षेत्र–२ मा विगतमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालदेखि पूर्वसभामुख ओनसरी घर्तीमगरले चुनाव लडिरहेकोमा यसपटक नयाँ अनुहारलाई उम्मेदवार बनाइएको छ ।
एमालेले स्थानीय शिक्षक मणिराम फुयाँललाई उम्मेदवार बनाएको छ भने कांग्रेसले कविर शर्मा र राप्रपाले कुन्तीदेवी पोखरेललाई उम्मेदवार बनाएको छ । गत प्रतिनिधिसभा निर्वाचनमा रास्वपाकी नेतृ सोविता गौतम विजयी भएकोमा यसपटक राप्रपाबाट पार्टी प्रवेश गराएर सुनिल केसीलाई उम्मेदवार बनाइएको छ ।
काठमाडौं क्षेत्र–३ मा प्रायः स्थानीय प्रभावका उम्मेदवार बनाउने गरेका छन् । अघिल्लो निर्वाचनमा विजयी भएका कांग्रेसका सन्तोष चालिसे अख्तियारको मुद्दा खेपिरहेका छन् भने यसपटक स्थानीय प्रभावका रमेश अर्याललाई उम्मेदवार बनाएको छ । नेकपा एमालेबाट पनि प्रदेशका पूर्वमन्त्री रामेश्वर फुयाँल उम्मेदवार भएका छन् ।
काठमाडौं क्षेत्र–३ यसपटक राजनीतिमा नयाँ परीक्षण हुने दुई पात्रका कारण चर्चित छ । ती हुन्, उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ र रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहका ‘राइट ह्यान्ड’ मानिने राजु पाण्डे । अरु पार्टीका उम्मेदवार परीक्षित र स्थानीय प्रभावका भए पनि पुख्र्यौली घर रामेछाप भएका उनेपा अध्यक्ष घिसिङ र नुवाकोट घर भएका रास्वपा उम्मेदवार पाण्डे चर्चामै छन् ।
काठमाडौं क्षेत्र–४ विगतमा नेपाली कांग्रेसका गगनकुमार थापाका कारण चर्चामा थियो । यसपटक थापा तराई झरेपछि कांग्रेसले यहाँ स्थानीय प्रभावका नेता सचेन तिमल्सिनालाई उम्मेदवार बनाएको छ ।
नेकपा एमालेका उपमहासचिव राजन भट्टराई यस क्षेत्रबाट उम्मेदवारको प्रतिस्पर्धामा छन् । यसअघि पनि दुई पटक पराजित उनी एमालेका प्रभावशाली पदाधिकारीमा पर्छन् । यस क्षेत्रमा राप्रपाका चर्चित नेता तथा कानुन व्यवसायी सुरेन्द्रराज भण्डारी उम्मेदवार छन् भने रास्वपाका पुकार बम उम्मेदवार छन् ।
काठमाडौं क्षेत्र–५ मा एमालेका पोखरेल र कांग्रेसका पौडेलबाहेक रास्वपाका सस्मित पोखरेल, गतिशील लोकतान्त्रिक पार्टीकी चर्चित कलाकार निशा अधिकारी उम्मेदवार छन् ।
काठमाडौं क्षेत्र–६ मा पूर्वशिक्षामन्त्री तथा रास्वपा नेता शिशिर खनाल उम्मेदवार छन् भने एमालेले प्रदेश भौतिक पूर्वाधारमन्त्री भएका अमन मास्के र नेपाली कांग्रेसले स्थानीय कृष्ण बानियाँ क्षेत्रीलाई उम्मेदवार बनाएको छ ।
काठमाडौं क्षेत्र–७ बाट एमालेले पूर्वप्रदेशमन्त्री प्रकाश श्रेष्ठलाई उम्मेदवार बनाएको छ भने रास्वपाले गणेश पराजुलीलाई उम्मेदवार बनाएको छ । नेपाली कम्युनिस्ट पार्टीले बसन्तप्रसाद मानन्धरलाई उम्मेदवार बनाएको छ ।
काठमाडौं क्षेत्र–८ मा रास्वपाबाट पूर्वमन्त्री विराजभक्त श्रेष्ठ उम्मेदवार छन् भने एमालेका राजेश शाक्य र कांग्रेसका सपना राजभण्डारी उम्मेदवार छन् । चर्चित अभियन्ता सुमन सायमीले नेपाली कम्युनिस्ट पार्टीको तर्फबाट उम्मेदवारी दिएका छन् ।
काठमाडौं क्षेत्र–९ मा रास्वपा उपसभापति डीपी अर्याल उम्मेदवार छन् । यस क्षेत्रमा एमालेबाट डा. अजयक्रान्ति शाक्य उम्मेदवार छन् भने नेपाली कांग्रेसबाट नानुमैयाँ बाँस्तोलालाई उम्मेदवार बनाएको छ ।
काठमाडौं क्षेत्र–१० नेपाली कम्युनिस्ट पार्टीले स्थानीय रूपा महर्जनलाई उम्मेदवार बनाएको छ । नेकपा एमालेबाट विनोद श्रेष्ठ उम्मेदवार छन् भने कांग्रेसबाट हिमाल कार्की उम्मेदवार छन् ।
त्यस्तै, भक्तपुर क्षेत्र–१ नेमकिपाको ‘गढ’ मानिन्छ । यस क्षेत्रमा विगतमा नारायणमान बिजुक्छे उम्मेदवार हुने गरेकोमा अहिले प्रेम सुवाल उम्मेदवार छन् भने नेकपा एमालेबाट सोम मिश्र र कांग्रेसका किरण न्यौपाने उम्मेदवार छन् ।
भक्तपुर क्षेत्र–२ मा नेकपा एमालेका सचिव महेश बस्नेत उम्मेदवार छन् भने नेपाली कांग्रेसका कविर राणा, नेपाली कम्युनिस्ट पार्टीका रामप्रसाद सापकोटा दिपशिखा, रास्वपाका राजिव खत्री, उज्यालो नेपाल पार्टीका जितराम लामालगायत उम्मेदवार छन् ।
ललितपुर क्षेत्र–१ मा नेपाली कांग्रेस सहमहामन्त्री उदयसमशेर राणा, एमालेबाट पूर्वप्रदेश सांसद चेतनाथ सञ्जेल, रास्वपाबाट जिल्ला सभापति बुद्धरत्न महर्जन उम्मेदवार छन् ।
ललितपुर क्षेत्र–२ मा पूर्वसञ्चारमन्त्री जगदीश खरेल रास्वपाबाट, एमालेबाट निवर्तमान सांसद प्र ेमबहादुर महर्जन र कांग्रेसबाट प्र ेमकृष्ण महर्जन उम्मेदवार छन् ।
ललितपुर क्षेत्र–३ बाट रास्वपाकी चर्चित नेतृ पूर्वस्वास्थ्यराज्यमन्त्री डा.तोसिमा कार्की, कांग्रेसका जिल्ला सभापति जितेन्द्र श्रेष्ठ, नेपाली कम्युनिस्ट पार्टीका संविधानसभा सदस्य राजकाजी महर्जन र एमालेका युवा नेता सन्दन थापामगरलगायतको उम्मेदवारी छ ।
प्रतिक्रिया