कांग्रेसबाट चुनाव लड्न अमेरिकाबाट आए आनन्द

विहीबार, ०८ माघ २०८२

धनगढी: फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशबाट २१० जनाको उम्मेदवारी परेको छ।

सुदूरपश्चिमका नौ जिल्लाका १६ निर्वाचन क्षेत्रका लागि १८ महिला र १९२ पुरुष गरी कुल २१० जनाले उम्मेदवारी दर्ता गराएका हुन्। यसअनुसार कुल उम्मेदवारीमा महिलाको सहभागिता ८ दशमलव ५७ प्रतिशत रहेको छ।

प्रदेशमा सबैभन्दा बढी कैलाली निर्वाचन क्षेत्र नम्बर १ तथा कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ र २ बाट १९–१९ जनाले उम्मेदवारी दर्ता गराएका छन्। सबैभन्दा कम बझाङबाट ७ जनाको उम्मेदवारी परेको छ।

कैलाली क्षेत्र नम्बर २ बाट १६, क्षेत्र नम्बर ३ बाट ११, क्षेत्र नम्बर ४ बाट १६ र क्षेत्र नम्बर ५ बाट पनि १६ जनाले उम्मेदवारी दर्ता गरेका छन्। कञ्चनपुर क्षेत्र नम्बर ३ बाट १७ जना, अछाम क्षेत्र नम्बर १ बाट ८ र क्षेत्र नम्बर २ बाट ९ जनाले उम्मेदवारी दर्ता गरेको सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालयले जनाएको छ।

यसैगरी डोटीबाट ९, बाजुराबाट ८, बैतडीबाट १२, दार्चुलाबाट ११ र डडेलधुराबाट १३ जनाले उम्मेदवारी दर्ता गरेका छन्।

कांग्रेसबाट चुनाव लड्न अमेरिकाबाट आए आनन्द

नेपाली कांग्रेसको कैलाली–४ बाट उम्मेदवार बन्न वीरबहादुर बलायरले अस्वीकार गरेपछि गोरखबहादुर विष्ट ‘आनन्द’ को उम्मेदवारी परेको छ। कांग्रेसबाट टिकट पाएका विष्ट कांग्रेस जनसम्पर्क समिति अमेरिकाका अध्यक्षसमेत हुन्।

निवर्तमान सभापति शेरबहादुर देउवानिकट तथा सुदूरपश्चिम प्रदेश सभापति बलायरले चुनाव नलड्ने घोषणा गरेपछि देउवा समूहकै नेता विष्टले टिकट पाएका हुन्। विष्ट १३औँ महाधिवेशनमा अमेरिकाबाटै महाधिवेशन प्रतिनिधि बनेका थिए। २०७९ को निर्वाचनमा कैलाली–४ बाट बलायर निर्वाचित भएका थिए।

१६ निर्वाचन क्षेत्रमध्ये देउवा पक्षले पाँच मात्रै टिकट

नेपाली कांग्रेसको केन्द्रीय नेतृत्व परिवर्तनसँगै सुदूरपश्चिम प्रदेशमा निवर्तमान सभापति शेरबहादुर देउवा पक्ष टिकट वितरणमा खुम्चिएको छ।

सुदूरपश्चिमका १६ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये देउवा पक्षले पाँच क्षेत्रमा मात्रै टिकट पाएको छ। देउवाका विश्वासपात्र मानिने एनपी साउदसहित नैनसिंह महर, पुष्पबहादुर शाह, नरनारायण शाह र गोरखबहादुर विष्टले मात्र प्रत्यक्षतर्फको टिकट पाएका छन्।

कांग्रेसले देउवानिकट पूर्वगृहमन्त्री रमेश लेखकलाई टिकटबाट वञ्चित गरेको छ। उनी कञ्चनपुर–३ बाट आकाङ्क्षी थिए। अन्तिम समयमा सभापति गगन थापाले भर्खरै सम्पन्न विशेष महाधिवेशनको पक्षमा खुलेका कांग्रेस कञ्चनपुरका पूर्वसभापति हरिप्रसाद बोहरालाई टिकट दिएका छन्।

पार्टीको संसदीय बोर्डले कैलाली–४ मा टिकट दिए पनि प्रदेश सभापति वीरबहादुर बलायर चुनाव लड्न इच्छुक नदेखिएपछि बोर्डले देउवानिकट विष्टलाई उम्मेदवार बनाएको हो।

कैलाली–५ मा निवर्तमान परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालाई सिफारिस गरिएको थियो। तर, उक्त क्षेत्रमा प्रदेश महामन्त्री नरनारायण शाहले टिकट पाएका छन्।

यस्तै, निवर्तमान सभापति शेरबहादुर देउवाले उम्मेदवार नबन्ने बताएपछि डडेलधुराबाट निवर्तमान केन्द्रीय सदस्य नैनसिंह महरले टिकट पाएका छन्। सुदूरपश्चिमका १६ निर्वाचन क्षेत्रमध्ये ११ स्थानमा सभापति गगन थापानिकट उम्मेदवारले टिकट पाएका छन्।

 

प्रतिक्रिया

पत्रपत्रिकाबाट
लेखकको बारेमा
पत्रपत्रिकाबाट

सम्बन्धित समाचार