मनाङः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का एक जना उम्मेदवारको गाडी बिग्रिँदा मनोनयन छुटेको छ। योसँगै प्रत्यक्षतर्फ रास्वपाका १६४ क्षेत्रमा मात्र उम्मेदवारी दर्ता भएको छ।
मनाङको टिकट दिएर पठाएका उम्मेदवार अनिल गुरूङले निर्धारित समयभन्दा झन्डै चार घन्टा ढिला पुगेपछि मनोनयन पत्र दर्ता गर्न पाएनन्।
निर्वाचन आयोगले मनोनयन दर्ताका लागि मंगलबार बिहान १० देखि साँझ ५ बजेसम्मको समय निर्धारण गरेको थियो। तर रास्वपा उम्मेदवार गुरूङ राति ८ बजेर ४५ मिनेटमा मात्र मनाङको मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए।
उनले सोमबार साँझ साढे ५ बजे मात्र टिकट पाएका थिए। उनी गाडीमा मंगलबार निस्किने तयारीमा रहे।
मंगलबार बिहान साढे ४ बजे नै आउने गरी एउटा कम्पनीको गाडी रिजर्भ गरेका थिए, तर त्यो गाडीले एक घन्टा ढिला गरेको विवरणमा उल्लेख छ।
बिहान साढे ४ बजे आइपुग्ने भनेको गाडी साढे ५ बजे मात्र आइपुग्यो। घरबाट निस्कँदा पौने ६ बजेको थियो। तनहुँको डुम्रे पुगेपछि गाडी बिग्रियो। त्यहाँ झन्डै २ घन्टाजति बस्दा पनि गाडी बन्ने छाँट देखिएन।
उनले गोरखाबाट गाडी बोलाएर मनाङ पुग्दा पौने नौ बजिसकेको थियो। वारेसनामाबाट पनि उम्मेदवारी दर्ता गर्न सक्ने स्थिति नरहनुमा उनले मोबाइल बाटैमा स्वीच अफ भएको बताएका छन्।
प्रतिक्रिया