‘धुर्मुस’लाई रङ्गशालाको भुक्तानी गर्न भरतपुर महानगरलाई कानुनी बाधा

शुक्रबार, ०५ मंसिर २०८२
File Photo

चितवन : धुर्मुस–सुन्तली फाउन्डेसनले छाडेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको भुक्तानी रोकिएको विषयमा भरतपुर महानगरपालिकाले फेरि स्पष्ट गर्दै “समस्या चाहनाको हैन, कानुनको हो” भन्ने प्रतिक्रिया दिएको छ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेल भन्छन्, “संघीय सरकारले दिएको १५ करोड ‘सिर्जित सम्पत्ति खरिद’ शीर्षकको बजेट हो। यो सार्वजनिक खरिद ऐन अनुसार चल्छ। फाउन्डेसनले बनाएको संरचना खरिद प्रक्रियाबाट बनेको छैन, भ्याट पनि छैन। अहिले सोझै पैसा दिन मिल्दैन।”

महानगरले अर्थ मन्त्रालय र खेलकुद मन्त्रालय दुवैलाई सोध्दा पनि “अतिरिक्त कुनै राय चाहिँदैन, कार्यविधि नै लागू हुन्छ” भन्ने जवाफ आएको पौडेलको भनाइ छ।

महानगर प्रमुख रेनु दाहाल भन्छिन्,“भुक्तानी गर्न चाहन्छौँ, तर कानुन मिलेन। चाहेकोले मात्र दिने हो भने त अबैध हुन्छ।”

फाउन्डेसनले ५७ करोड १२ लाखको काम गरेको र १८ करोड ४३ लाख उधारो रहेको दाबी गरेपछि विषय चर्किएको हो। २०७५ मा सुरु भएको परियोजना आर्थिक समस्याले आधामा रोकियो, पछि फाउन्डेसनले महानगरलाई हस्तान्तरण गरिदियो।

हाल निर्माणको ४५ प्रतिशत काम महानगरले अगाडि बढाइसकेको छ।

महानगरले विषयलाई अतिरञ्जित नगर्न समेत आग्रह गरेको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार