सुनसरीमा टिकटको ‘रमिता’: एमाले–कांग्रेस दुवैमा अन्तिम घडीसम्म अन्योल

मंगलबार, ०६ माघ २०८२

काठमाडौँ : फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लिएर सुनसरीमा ठुला दल नेकपा (एमाले) र नेपाली कांग्रेस दुवै उम्मेदवार छनोटमा चरम अन्योलमा परेका छन्। अन्तिम समयसम्म टिकट हेरफेर, निर्णय फिर्ता र पुनः निर्णयका कारण दिनभर नेता तथा कार्यकर्ता अलमलमा परेका थिए।

एमालेमा छिनछिनमा टिकट फेरबदल
एमाले केन्द्रीय सचिवालय बैठकले शनिवार राति सुनसरी क्षेत्र नम्बर १ र ३ का उम्मेदवार टुङ्गो लगाएको सूचना सार्वजनिक गर्‍यो। क्षेत्र १ बाट सूर्य पान्धाक र ३ बाट भगवती चौधरीको नाम आएपछि स्थानीय तहमा असन्तुष्टि चुलियो।

आकाङ्क्षी जयकुमार राई, मञ्जु भण्डारी र टीका माङ्लालेनलाई पन्छाउँदै पान्धाकलाई टिकट दिएको विषयमा धरानमा बैठकसमेत बस्यो। बैठकले पान्धाकलाई जिताउन पार्टी परिचालन गर्ने निर्णय गर्‍यो तर सोही दिन बेलुका पान्धाकको ठाउँमा टीका माङ्लालेनलाई टिकट आएको सूचनाले फेरि अन्योल बढायो।

सुनसरी २ र ४ मा त झनै रमिता देखियो। सुरुमा ४ बाट जगदीश कुसियैत र २ बाट रेवतीरमण भण्डारीको नाम चर्चामा आयो। भण्डारीले प्रदेशसभा सदस्य पदबाट राजीनामाको तयारीसमेत थाले। तर मङ्गलवार बिहान कांग्रेसबाट एमाले प्रवेश गरेका अब्दुल अन्सारीले ४ बाट टिकट लिएको तस्बिर सार्वजनिक भएपछि एमाले वृत्त खैलाबैला भयो। असन्तुष्ट नेताहरू पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दमकमा भेटेर विरोध गरेपछि राति नै टिकट फिर्ता हुने सङ्केत आयो।

मनोनयन दर्ताको दिन बिहान पुनः कुसियैत (४) र भण्डारी (२) को नाम आयो। तर ११ बजेसम्मको अन्योलपछि अन्ततः २ बाट सुजन लामालाई उम्मेदवार बनाइयो।

काठमाडौँबाट टिकट बोकेर आएका अब्दुल अन्सारीको टिकट पनि फिर्ता गराइयो र उनले कुसियैतलाई हस्तान्तरण गरे। यसरी अन्तिम टुङ्गो अनुसार एमालेबाट सुनसरी १ मा टीका माङ्लालेन, २ मा सुजन लामा, ३ मा भगवती चौधरी र ४ मा जगदीश कुसियैतले मनोनयन दर्ता गराए।

कांग्रेसमा ‘दाजुभाइ’ विवाद
नेपाली कांग्रेस सुनसरी–३ मा एमालेभन्दा कम रमिता भएन। पार्टी सभापति गगन थापाको हस्ताक्षरसहित विजय कुमार गच्छदार र उनका काकाका छोरा वेदनारायण गच्छदार दुवैलाई टिकट दिएर क्षेत्रमा पठाइएपछि दिनभर कार्यकर्ता अन्योलमा परे।

२०४८ सालदेखि निरन्तर उम्मेदवार बन्दै आएका विजय यसपटक पनि उम्मेदवार बन्न चाहन्थे भने दुहबीका मेयर वेद पनि सङ्घमा फड्को मार्ने तयारीमा थिए।

विजयको चाहनामा वेद बाधक बनेपछि दुवैले केन्द्रमा शक्ति प्रयोग गरे। सोमबार राति विजयले टिकट हात पारे भने मध्यरातमा वेदले पनि सभापतिको हस्ताक्षर गराएरै छाडे।

एउटै क्षेत्रमा दुई टिकट पुगेपछि पार्टीभित्र मात्र होइन, गच्छदार परिवारमै विभाजन देखियो। दिनभर छलफल र शक्ति सङ्घर्षपछि अन्ततः विजय कुमार गच्छदारले नै सुनसरी–३ बाट मनोनयन दर्ता गराए।

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार