विराटनगर । काठमाडौंबाट संखुवासभाको सदरमुकाम खाँदबारीतर्फ जाँदै गरेको माइक्रो बस शुक्रबार बिहान धनकुटामा दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । मृतक वृद्धा महिला हुन् । दुर्घटनामा परेर १६ जना घाइते भएका छन् ।
मध्यपहाडी लोकमार्गअन्तर्गत पाख्रीबास नगरपालिका–५ भैंसेमा बिहान ६ः१० बजेतिर बा ४ ख ५२०२ नम्बरको सप्तकोशी हायस माइक्रो बस दुर्घटनामा परेको धनकुटा प्रहरी प्रमुख एसपी सरत थापा क्षेत्रीले बताए । उनका अनुसार माइक्रो आफैं अनियन्त्रित भएरसडकबाट करिब ७० मिटर तल खसेको थियो ।
दुर्घटनामा परेर माइक्रोमा सवार संखुवासभाको सभापोखरी गाउँपालिका–२ की ८२ वर्षीया सावित्री कालाखेतीको मृत्यु भएको जानकारी एसपी थापाले बताए । गम्भीर घाइते भएकी उनलाई उद्धार गरेर उपचारका लागि धनकुटा अस्पताल लगिएको थियो । उपचारका क्रममा चिकित्सकले मृत घोषित गरेका हुन् ।
प्रहरीका अनुसार दुर्घटनामा परेर संखुवासभाको सिलिचोङ गाउँपालिका–१ की ११ वर्षीया विनिता राई, ४९ वर्षीया वैकुण्ठी राई, सिलिचोङ–३ का ३९ वर्षीय नरेन्द्रकुमार राई, ३० वर्षीया संगीता राई, ४२ वर्षीया नरमाया राई, १४ वर्षीय जेसन राई, पाँचखपन नगरपालिका–९ की २४ वर्षीया ल्हामु शेर्पा, खाँदबारी नगरपालिका–७ का ५० वर्षीय रत्नबहादुर विक र खाँदबारी–८ की ३८ वर्षीया कल्पना विक घाइते भएका छन् ।
त्यस्तै, सप्तरीको कन्चनरुप नगरपालिका–४ का ४४ वर्षीय कैलाश गुप्ता, भोजपुरको षडानन्द नगरपालिका–११ का ३२ वर्षीय विकल कार्की, भोजपुरकै साल्पासिलिछो गाउँपालिका–५ का ३२ वर्षीय पासाङ शेर्पा, उदयपुरको लिम्चुङबुङ गाउँपालिका–१ की ४४ वर्षीया निर्जला राई, सिन्धुली घर भएका १९ वर्षीय सन्तबहादुर तामाङ, धनकुटाको महालक्ष्मी नगरपालिका–३ की ३० वर्षीया सुजता गिरी र माइक्रो चालक ३५ वर्षीय चालक दीपेन्द्र बुढाथोकी घाइते भएको जानकारी प्रहरीले दिएको छ ।
घाइतेमध्ये सुजता गिरी नेपाल प्रहरीको जवान हुन् । घाइतेहरुको धनकुटा अस्पताल र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ । दुर्घटनाको कारण पत्ता नलागेको र थप अनुसन्धान भइरहेको एसपी थापाले बताए ।
प्रतिक्रिया