जनकपुर : धार्मिक तथा ऐतिहासिक महत्त्व बोकेको सीताराम विवाह पञ्चमी महोत्सव आजदेखि जनकपुरधाममा सुरु भएको छ। महोत्सवको तयारी पुरा भएको जानकी मन्दिरका उत्ताराधिकारी महन्त रामरोसन दासले जानकारी दिए ।
विगत वर्ष जस्तै यस वर्ष पनि जानकी मन्दिरलाई विवाह मण्डपको शैलीमा सजाइएको छ। मन्दिर व्यवस्थापनले सरसफाइ, पण्डाल निर्माण, झिलिमिली बत्ती, मञ्च तयारी र सांस्कृतिक कार्यक्रमका संरचनासम्मको तयारी पुरा गरेको महन्त दासले बताए ।
साताव्यापी महोत्सवअन्तर्गत आज नगरदर्शन, शुक्रबार फूलवारी लिला, शनिबार धनुषा यज्ञ, आइतबार तिलकोत्सव, सोमबार मटकोर, मङ्गलबार स्वयंवर तथा शुभ विवाह, र बुधबार रामकलेवा हुँदै कार्यक्रम समापन हुनेछ। भारतको बिहार, उत्तरप्रदेश, राजस्थानसहित नेपालका सात प्रदेशका हिन्दू धर्मावलम्बी महोत्सवमा सहभागी हुन आउने गरेका छन्।
महोत्सवमा कुनै अप्रिय घटना नहोस् भनेर सुरक्षा कडा पारिएको छ। धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलका अनुसार नेपाल प्रहरी र शास्त्र प्रहरी गरी एक हजार ७५० सुरक्षाकर्मी परिचालन गरिएको छ।
प्रतिक्रिया