काठमाडौं : प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयन दर्ताको निर्धारित समय सकिएको छ । तर साँझ ५ बजेसम्म मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालय प्रवेश गरिसकेका उम्मेदवारलाई मनोनयन दर्तामा कुनै असर नपर्ने निर्वाचन आयोगले स्पष्ट गरेको छ ।
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार कतिपय जिल्लामा प्रक्रिया लम्बिँदा रातिसम्म पनि उम्मेदवारी दर्ता हुन सक्नेछ । आयोगले समयमै कार्यालय प्रवेश गरिसकेकालाई कानुनी रूपमा मनोनयन दर्ता गर्न दिइने जनाएको हो ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आज देशभर प्रत्यक्षतर्फको मनोनयन दर्ता भइरहेको छ । २७५ सदस्यीय प्रतिनिधिसभामध्ये ११० जना समानुपातिक निर्वाचन प्रणालीबाट र १६५ जना प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत निर्वाचित हुनेछन् ।
यसअघि समानुपातिकतर्फको उम्मेदवारी मनोनयन पुस १३ र १४ गते सम्पन्न भइसकेको छ । आज प्रत्यक्षतर्फको मनोनयन दर्तासँगै प्रतिनिधिसभा निर्वाचनको प्रक्रिया थप अगाडि बढेको छ ।
प्रतिक्रिया