काठमाडौं : विभिन्न विषयमा अफवाह फैलाएको आरोपमा पोखराबाट पक्राउ परेका दुर्गा प्रसाईँलाई काठमाडौं प्रहरीले हाजिर जमानीमा रिहा गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार प्रसाईँको बयान लिइसकेपछि हिरासतमा राखिरहनुपर्ने अवस्था नदेखिएकाले आफन्तको जिम्मामा छोडिएको हो । उनलाई आवश्यक परे उपस्थित हुने सर्तमा हाजिर जमानीमा रिहा गरिएको प्रहरीले जनाएको छ ।
प्रसाईँ पोखरा लेकसाइडमा आयोजित नागरिक सभालाई सम्बोधन गरेर फर्किने क्रममा हिजो कास्कीको चाउथेबाट पक्राउ परेका थिए । पक्राउपछि उनलाई काठमाडौं ल्याएर अनुसन्धान गरिएको थियो ।
नेपाली कांग्रेसको आधिकारिकता विवादमा निर्वाचन आयोगले पैसा खाएर निर्णय गरेको भन्ने आशयको सार्वजनिक अभिव्यक्ति दिएपछि आइतबार निर्वाचन आयोगले कारबाही प्रक्रिया अघि बढाउन अनुरोध गर्दै साइबर ब्युरोमा पत्राचार गरेको थियो । सोही विषयमा अनुसन्धानका लागि प्रसाईँलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया