काठमाडौँ : आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले प्रत्यक्षतर्फ १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गराएको छ।
पार्टीका नेता गोविन्द आचार्यका अनुसार टिकट पाएका सबै उम्मेदवारले आजै आ–आफ्नो निर्वाचन क्षेत्रमा पुगेर मनोनयन दर्ता गराइसकेका छन्। बागलुङ–१ मा भने नेकपाले आफ्ना उम्मेदवार नउतारी राष्ट्रिय जनमोर्चाका उम्मेदवारलाई समर्थन गरेको छ।
१६५ निर्वाचन क्षेत्रमध्ये १४ स्थानमा महिला उम्मेदवार रहेका छन्। महिला उम्मेदवारहरूमा कञ्चनपुर–१ बाट बिना मगर, नवलपरासी (पश्चिम)–१ बाट सिन्धु जलेसा, मनाङ–१ बाट यशोधा सुवेदी गुरुङ, चितवन–३ बाट रेणु दाहाल, काठमाडौँ–१० बाट रुपा महर्जन, काठमाडौँ–५ बाट कल्पना शर्मा, काठमाडौँ–१ बाट मेनका भण्डारी, सप्तरी–४ बाट रुवी कुमारी कर्ण, सङ्खुवासभा–१ बाट सरिता खड्का थापा, झापा–२ बाट धर्मशिला चापागाईँ, सुनसरी–२ बाट रामकुमारी चौधरी, रौतहट–३ बाट पुनम देवी र काभ्रेपलान्चोक–२ बाट वसुन्धरा हुमागाईँ रहेका छन्।
प्रदेशगत रूपमा हेर्दा कोशीदेखि सुदूरपश्चिमसम्म सबै निर्वाचन क्षेत्रमा नेकपाले उम्मेदवार खडा गरेको छ। काठमाडौँ उपत्यकाका सबै १० निर्वाचन क्षेत्र, मधेशका ३२ क्षेत्र, बागमतीका ३३ क्षेत्र, लुम्बिनीका २६ क्षेत्र, गण्डकीका १८ क्षेत्र, कर्णालीका १२ क्षेत्र र सुदूरपश्चिमका १६ निर्वाचन क्षेत्रमा पार्टीका उम्मेदवारले मनोनयन दर्ता गराएका छन्।
नेकपाले पूर्व प्रधानमन्त्री तथा शीर्ष नेताहरूलाई समेत मैदानमा उतारेको छ। रौतहट–१ बाट माधवकुमार नेपाल, पूर्वी रुकुम–१ बाट पुष्पकमल दाहाल ‘प्रचण्ड’, रोल्पा–१ बाट वर्षमान पुन, दाङ–१ बाट मेटमणि चौधरी लगायतका नेताहरू उम्मेदवार बनेका छन्। पार्टीले सबै क्षेत्रमा सङ्गठन सुदृढ गर्दै निर्वाचनमा प्रतिस्पर्धी ढङ्गले जाने तयारी गरेको जनाएको छ।
प्रतिक्रिया