विराटनगर । नेपाली कांग्रेसले फागुन २१ गते हुने निर्वाचनका लागि मोरङ जिल्लाका सबै ६ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार टुंगो लगाएको छ । पार्टी सभापति गगनकुमार थापा नेतृत्वको संसदीय बोर्डले मोरङका प्रतिनिधिसभा क्षेत्र १ देखि ६ सम्मका उम्मेदवारको अन्तिम निर्णय गरेको हो ।
कांग्रेसले मोरङ क्षेत्र नं. ६ बाट डा. शेखर कोइरालालाई उम्मेदवार बनाएको छ । यसअघि कोइरालाले थापाको हातबाट टिकट लिएर चुनाव नलड्ने बताएका थिए । तर अन्ततः उनी सोही क्षेत्रबाट उम्मेदवार बनेका छन् । डा. कोइराला अघिल्लो निर्वाचनमा पनि मोरङ ६ बाट विजयी भएका थिए ।
मोरङ क्षेत्र नं. १ मा कांग्रेसले पार्टीका प्रदेश सहमहामन्त्री खड्ग फागोलाई उम्मेदवार बनाएको छ । अघिल्लो निर्वाचनमा सो क्षेत्रबाट विजयी भएका पार्टीका जिल्ला सभापति डिकबहादुर लिम्बूले यसपटक टिकट पाएनन् । फागो गगन समूहका नेता हुन् भने लिम्बू डा. शेखर कोइराला समूहका हुन् ।
मोरङ क्षेत्र नं. २ मा कोइराला समूहकै डा. मिनेन्द्र रिजालले टिकट पाएका छन् । रिजाल २०७४ सालको निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित भएका थिए । अघिल्लो निर्वाचनमा भने उक्त क्षेत्रमा उम्मेदवार बनेकी सुजाता कोइराला पराजित भएकी थिइन् ।
मोरङ क्षेत्र नं. ३ बाट सुनिल शर्मा कांग्रेसका उम्मेदवार बनेका छन् । कोइराला समूहका शर्मा अघिल्लो निर्वाचनमा पनि सोही क्षेत्रबाट विजयी भएका थिए ।
कांग्रेसले मोरङ क्षेत्र नं. ४ बाट महामन्त्री गुरुराज घिमिरेलाई उम्मेदवार बनाएको छ । घिमिरे अघिल्लो निर्वाचनमा मोरङ क्षेत्र नं. ४(२) बाट प्रदेशसभाको उम्मेदवार बनेका थिए । माओवादी केन्द्रसहितको समर्थनमा चुनाव लडेका उनी नेकपा एमालेका जयप्रकाश चौधरीसँग पराजित भएका थिए । यसै क्षेत्रमा यसअघि लगातार दुई निर्वाचन जितेका अमनलाल मोदी नेकपाका उम्मेदवार बनेका छन् भने नेकपा एमालेले अघिल्लो प्रदेशसभा निर्वाचनमा पराजित भएका जीवन घिमिरेलाई उम्मेदवार बनाएको छ ।
मोरङ क्षेत्र नं. ५ बाट कांग्रेसले फुलकुमार लालबानीलाई उम्मेदवार बनाएको छ । उनी कांग्रेसका महासमिति सदस्य हुन् । सो क्षेत्रबाट प्रदेशसभा सदस्य अमृत अर्याल उम्मेदवार बन्न आकांक्षी रहे पनि टिकट पाउन सकेनन् । अघिल्लो निर्वाचनमा यसै क्षेत्रबाट स्वतन्त्र उम्मेदवार योगी मण्डल विजयी भएका थिए ।
प्रतिक्रिया