झापा–२ मा शीर्ष नेतृत्वबीच भिडन्तको सङ्केत, इन्दिरा राना मगरले गराइन् मनोनयन दर्ता

मंगलबार, ०६ माघ २०८२

झापा ।  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि झापा निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिस्पर्धा चर्किने सङ्केत देखिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा की वरिष्ठ नेतृ तथा निवर्तमान उपसभामुख इन्दिरा राना मगरले आज मनोनयन दर्ता गराएसँगै यो क्षेत्र राजनीतिक रूपमा थप चासोको केन्द्र बनेको छ ।

झापा निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका लागि निवर्तमान उपसभामुख  मगरले उम्मेदवारी दर्ता गराएकी छन् । केही बेरअघि उनी अर्जुनधारा नगरपालिकामा रहेको निर्वाचन क्षेत्र नम्बर २ को मुख्य निर्वाचन कार्यालय पुगेर राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट औपचारिक रूपमा मनोनयन दर्ता गराएकी हुन् ।

निर्वाचन अधिकृत महेश खत्रीले मगरको मनोनयन दर्ता गरेको निर्वाचन कार्यालयले जनाएको छ । मनोनयन दर्तापछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै मगरले झापा–२ का मतदाताले नयाँ राजनीतिक संस्कार र जबाफदेही नेतृत्व खोजिरहेको भन्दै आफू त्यसको प्रतिनिधि बन्न मैदानमा उत्रिएको बताइन् ।

झापा–२ मा यस पटक निवर्तमान सभामुख देवराज घिमिरे र निवर्तमान उपसभामुख इन्दिरा राना मगरबीच प्रत्यक्ष प्रतिस्पर्धा हुने देखिएको छ । दुवै उम्मेदवार यही क्षेत्रका स्थायी बासिन्दा हुन्, जसका कारण स्थानीय स्तरमा चुनावी माहौल थप रोचक बन्ने अपेक्षा गरिएको छ ।

अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा देवराज घिमिरे झापा–२ बाट निर्वाचित भई सभामुख बनेका थिए भने इन्दिरा राना मगर समानुपातिक प्रणालीमार्फत प्रतिनिधिसभा सदस्य बनेर उपसभामुखको जिम्मेवारी सम्हालेकी थिइन् । यस पटक भने दुवै जना प्रत्यक्ष निर्वाचनमार्फत संसद् प्रवेश गर्ने लक्ष्यसहित आमनेसामने उत्रिएका छन् ।

स्थानीय राजनीतिक विश्लेषकहरूका अनुसार झापा–२ मा दुई प्रभावशाली राष्ट्रिय व्यक्तित्वबिचको प्रतिस्पर्धाले निर्वाचनलाई उच्च प्रोफाइलको बनाउनेछ । दलगत आधारसँगै व्यक्तिगत छवि, संसदीय अनुभव र विगतको कार्यसम्पादन नै मतदाताको निर्णयमा निर्णायक बन्न सक्ने उनीहरूको भनाइ छ ।

मनोनयन दर्ता प्रक्रिया जारी रहँदा अन्य दल तथा उम्मेदवारहरूले पनि आफ्नो उम्मेदवारी घोषणा गर्ने क्रम तीव्र बन्दै गएको छ । उम्मेदवारी दर्ता सकिएसँगै झापा–२ मा औपचारिक चुनावी प्रचारप्रसारले गति लिने र प्रतिस्पर्धा थप तीव्र हुने अपेक्षा गरिएको छ । 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार