दमकमा रास्वपा–एमाले कार्यकर्ताबिच झडप, अवस्था तनावपूर्ण

मंगलबार, ०६ माघ २०८२

झापा : झापा निर्वाचन क्षेत्र नम्बर ५ मा उम्मेदवारी दर्ताको क्रममा दमकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेकपा (एमाले) का कार्यकर्ताबिच झडप भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध नाराबाजी भएपछि दुवै पक्षबिच धकेलाधकेल र झडप भएको हो ।

रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) उम्मेदवारी दर्ता गर्न दमक–८ स्थित कृषि भवनमा रहेको निर्वाचन अधिकृतको कार्यालय पुग्ने क्रममा झडप भएको बताइएको छ । सो क्रममा रास्वपा कार्यकर्ताले ओलीविरुद्ध नाराबाजी गरेपछि एमाले कार्यकर्तासँग विवाद चर्किँदै झडपमा परिणत भएको प्रत्यक्षदर्शीहरूले बताएका छन् ।

झडपपछि केही समय दमक क्षेत्र तनावग्रस्त बनेको थियो । सुरक्षाकर्मी परिचालन गरी दुवै पक्षलाई तितरबितर पारिएको थियो । यद्यपि झडपमा घाइते वा ठूलो क्षतिको विवरण भने आइनसकेको प्रहरीले जनाएको छ ।

यसैबिच हजारौँ समर्थकको ¥यालीसहित निर्वाचन अधिकृतको कार्यालय पुगेका बालेनले सोही कार्यालयमा प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन् । गोर्खा डिपार्टमेन्ट स्टोरबाट सुरु भएको रास्वपाको ¥याली कृषि भवनसम्म पुगेको थियो । निर्वाचन अधिकृत विदुरकुमार कार्कीले बालेनको मनोनयन दर्ता गरेका थिए ।

मनोनयन दर्तापछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै बालेनले झडपप्रति दुःख व्यक्त गर्दै सबै पक्षलाई संयमित रहन आग्रह गरे । उनले शान्तिपूर्ण र मर्यादित ढङ्गले चुनावी प्रतिस्पर्धामा होमिने प्रतिबद्धता दोहोर्‍याए ।

स्थानीय प्रशासनले घटनालाई गम्भीर रूपमा लिएको जनाउँदै दमक क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको जनाएको छ । झडपको कारण र संलग्न व्यक्तिहरूको पहिचान गर्न प्रहरीले अनुसन्धान सुरु गरेको छ । 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार