धरान । धरान उपमहानगरपालिका–१३ स्थित जिरो पोइन्टमा यात्रुवाहक बस दुर्घटना हुँदा मृत्यु भएका पाँच जनाको पहिचान खुलेको छ। आज दिउँसो करिब ४:३० बजे धनकुटाबाट भेडेटार हुँदै धरानतर्फ आउँदै गरेको को १ ख ७११९ नम्बरको बस दुर्घटनामा परेको हो।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार दुर्घटनामा महोत्तरीको गैदाभेटपुर–८ का धैरिया कुमार यादव, जनकपुरका १८ महिने बालक रिषम कुमार मण्डल, बराहक्षेत्र–३ घर भई हाल धरान बस्दै आएका ओमेश राई, झापाको मेचीनगरका नयन थापा मगर र धरान–१३ की सुबेक्षा सुब्बाको घटनास्थलमै मृत्यु भएको हो।
प्रारम्भिक अनुसन्धान अनुसार बस पश्चिमपट्टिको न्यू सबा मेडिकल हलमा ठोक्किएको थियो। जनकपुरबाट सुनसरी यातायात कार्यालयमा गाडी नामसारीका लागि आएको बस भेडेटार घुम्न जाने क्रममा डिजेल सकिएपछि फर्काउने क्रममा दुर्घटना भएको प्रहरीको भनाइ छ।
दुर्घटनामा घाइते भएका १३ जनाको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ भने घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
यो पनि - जनकपुरबाट आएको बस धरानमा दुर्घटना हुँदा पाँच जनाको मृत्यु, १३ जना घाइते (तस्बिरहरुसहित)
प्रतिक्रिया