सर्वोच्च अदालतको निर्णय पार्टीलाई स्वीकार्य हुनेछ : पूर्णबहादुर खड्का

आइतबार, ०४ माघ २०८२

काठमाडौं : नेपाली कांग्रेसका पूर्व उपसभापति पूर्णबहादुर खड्काले पार्टीको आधिकारिकतासम्बन्धी विषयमा निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा कानुनी उपचारका लागि गएको स्पष्ट पारेका छन् ।

खड्काले पार्टीका नेता–कार्यकर्ता तथा शुभेच्छुकलाई सामाजिक सञ्जालमार्फत सम्बोधन गर्दै निर्वाचन आयोगको निर्णयविरुद्ध पार्टीको वैधानिक दाबी स्थापित गर्न २०८२ माघ ३ गते सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसमितिको बैठकको सर्वसम्मत निर्णयअनुसार सर्वोच्च अदालत पुगेको बताएका हुन् ।

उनका अनुसार सर्वोच्च अदालतको निर्णय पार्टीलाई स्वीकार्य र मान्य हुनेछ । “न्याय पाउने विश्वासका साथ आज हामी सर्वोच्च अदालत गएका हौँ,” खड्काले भनेका छन्।

पार्टीभित्र र बाहिर फैलाइएका हल्लाप्रति सचेत गराउँदै खड्काले नयाँ पार्टी खोल्ने, स्वतन्त्र उम्मेदवार बन्ने जस्ता चर्चा निराधार भएको बताएका छन् ।

“रुख चुनाव चिन्ह बाहेक अन्यथा सोच्न र कल्पना पनि गर्न सक्दिन,” उनले स्पष्ट पारेका छन् ।

उनले पार्टीका सबै नेता–कार्यकर्ता, शुभेच्छुक तथा आम मतदातालाई भ्रामक हल्लाको पछि नलाग्न आग्रह गर्दै नेपाली कांग्रेसको पक्षमा एकताबद्ध रहन अपिल गरेका छन् ।
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार