काठमाडौं । दलहरूले प्रत्यक्षतर्फको उम्मेदवारी दर्ताको समयसीमा बढाउन आग्रह गरिरहेका बेला प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रीहरूसहित सरोकारवालाहरूको बैठक बोलाएकी छिन् । बैठकमा आसन्न निर्वाचन, निर्वाचन आचारसंहिता लगायतका समसामयिक विषयमा छलफल हुने बताइएको छ ।
आइतबार ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गरी बैठक बोलाइएको हो । निर्वाचनका लागि प्रत्यक्षतर्फको मनोनयन दर्ताको सूची पर्सी मंगलबारका लागि तोकिएको छ । तर, दलहरूको तर्फबाट निर्वाचन आयोगलाई निरन्तर रूपमा मिति सार्न आग्रह आइरहेको छ ।
निर्वाचन आयोगले पनि प्रत्यक्षतर्फको उम्मेदवारी दर्ताको समय सार्ने तयारी गरेको बताइएको छ छ । दलहरूले समेत आग्रह गरेपछि निर्वाचन आयोग पनि समय पछि सार्नका लागि सकारात्मक देखिएको स्रोत बताउँछ ।
निर्वाचन आयोगका स्रोतका अनुसार नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी (नेकपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायतका दलले मनोनयन दर्ताको समय सार्न माग गरेका छन् । दलहरूले माघ १५ देखि मसान्तसम्म समय सार्न आग्रह गरेको बताइएको छ । तर अहिलेसम्म आयोगले भने मिति सार्ने निर्णय गरिसकेको छैन ।
आयोगले दलहरूबाट आग्रह आएपछि यस विषयमा आन्तरिक छलफल गरिरहेको छ । नेपाली कांग्रेसमा समेत आधिकारिकताको विवाद चलिरहेको र विवाद अदालतसम्म पुगेकोले आधिकारिकता नपाउने पक्षलाई नयाँ दलको रूपमा दर्ता हुन समय चाहिने तर्क पनि गरिएको छ । सबैजसो प्रमुख दलबाट आग्रह आएमा बढीमा १ हप्तासम्म समय थप्ने बारेका आयोगमा छलफल भइरहेको छ ।
प्रतिक्रिया