काठमाडौं : नेपाली कांग्रेसको आधिकारिकता विवाद आजै टुंगो लाग्ने संकेत देखिएको छ । विवाद समाधानका लागि निर्वाचन आयोगमा बसेको बैठकमा शुक्रबार साँझ साढे ६ बजेसम्म आयोगका पदाधिकारीहरू छलफलमा रहेका छन् ।
आयोगका एक अधिकारीका अनुसार निर्णयको अन्तिम गृहकार्यका लागि निरन्तर छलफल भइरहेको छ । आयोगले निर्णय लिनुअघि आज कांग्रेसका दुवै पक्षसँग छुट्टाछुट्टै छलफल गरेको थियो ।
सभापति गगन थापाले बिहीबार निर्वाचन आयोग पुगेर पुस २७ देखि ३० गतेसम्म सम्पन्न विशेष महाधिवेशनको निर्णय अद्यावधिक गर्न आग्रह गरेका थिए । त्यसपछि शुक्रबार पूर्णबहादुर खड्का नेतृत्वको पक्ष आयोगमा पुगेर विशेष महाधिवेशनलाई मान्यता नदिन माग राखेको थियो । त्यसको प्रत्युत्तरमा शुक्रबार दिउँसो गगन पक्षका पदाधिकारीहरू आयोग पुगेर विशेष महाधिवेशनको निर्णय तत्काल अद्यावधिक गर्न आग्रह गरेका छन् ।
आयोगभित्र छलफल चलिरहँदा बाहिर भने तनावपूर्ण अवस्था देखिएको थियो । बहादुरभवन परिसरमा शेरबहादुर देउवा पक्षधर कार्यकर्ताहरूले प्रदर्शन गरेका थिए । यसअघि देउवा समूहले पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरी गगन थापालाई आधिकारिकता दिइए आन्दोलन गर्ने चेतावनीसमेत दिएको थियो ।
उक्त विशेष महाधिवेशनले गगन थापालाई नेपाली कांग्रेसको सभापतिमा निर्वाचित गरेको दाबी गरिएको छ । आयोगको आजको बैठकले कांग्रेसको आधिकारिकता विवादमा निर्णायक मोड ल्याउने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया