काठमाडौँ : नेपाल ट्रष्टको नाममा दर्ता भएको जग्गा भाडामा दिने प्रक्रियामा अनियमितता भएको आरोपमा नेपाल सरकारका पूर्वसचिव अर्जुन कार्कीलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले गैरकानुनी लाभ उठाएर राज्यलाई नोक्सानी पुर्याएको अभियोगमा उनलाई पक्राउ गरेको पुष्टि गरेको छ।
सिआइबीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठका अनुसार काठमाडौँ महानगरपालिका–१ दरबारमार्गस्थित नेपाल ट्रष्टको कार्यालय र थामशेर्कु ट्रेकिङबीच भएको भाडा सम्झौतामा सूचनामा उल्लेख भएकोभन्दा बढी जग्गा प्रदान गरिएको पाइएको छ। सोही अनियमितता छानबिन गर्ने क्रममा कार्कीलाई पक्राउ गरिएको हो।
ब्यूरोले गरेको प्रारम्भिक अनुसन्धानमा सञ्चालक समितिको निर्णयबिना र कानूनी आधार नदेखाई बदनियतपूर्वक थप कित्ताको जग्गा समेत भाडामा दिएका संकेत भेटिएको छ। सो विवादित करार सम्झौता २०७४ जेठ १४ गते गरिएको थियो।
यसअघि सोही प्रकरणमा संलग्न आरोपमा ट्रष्टका तत्कालीन सहसचिव लेखबहादुर कार्कीलाई सिआइबीले कात्तिक २१ गते नै पक्राउ गरिसकेको थियो।
प्रतिक्रिया