व्यापारीहरू ब्रिफकेस बोकेर देउवा समूहलाई आधिकारिकता दिलाउन लागि परेका छन् : उदयशम्शेर राणा

विहीबार, ०१ माघ २०८२
file pic

काठमाडौँ : विशेष महाधिवेशनलाई लिएर नेपाली काँग्रेस विभाजित भएपछि पार्टीको आधिकारिकतासम्बन्धी विवाद निर्वाचन आयोगसम्म पुगेको छ।

शेरबहादुर देउवा समूह र विशेष महाधिवेशन पक्षबीचको द्वन्द्व चर्किँदै जाँदा सह–महामन्त्रीमा निर्वाचित उदयशमशेर राणाले ठुलो आर्थिक चलखेल भइरहेको आरोप लगाएका छन्।

राणाका अनुसार लामो समयदेखि सत्ता र शक्तिमा रहेका केही नेताहरूले आफ्नो प्रभाव जोगाउन विभिन्न माध्यम अपनाइरहेका छन्।

उनले व्यापारी समूह ‘ब्रिफकेस’ बोकेर पार्टीको आधिकारिकतामा प्रभाव पार्ने प्रयासमा लागेको दाबी गरे। तर, निर्वाचन आयोग र अदालतले तथ्य र विधानका आधारमा निष्पक्ष निर्णय गर्ने विश्वाससमेत व्यक्त गरे।

पार्टी फुटेको भन्ने आरोपलाई अस्वीकार गर्दै राणाले यसलाई वैधानिक प्रक्रियाबाट भएको कदम भने।

उनका अनुसार नेपाली काँग्रेसको विधानअनुसार ४० प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिले माग गरेमा तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउनुपर्ने व्यवस्था छ, जसअनुसार नै प्रक्रिया पूरा गरिएको हो। बन्द सत्रसमेत सार्वजनिक रूपमा प्रत्यक्ष प्रसारण गरिएको र सबै विधि पुर्‍याइएको उनको भनाइ छ।

लामो समय देउवा समूहमा रहेका राणा हाल गगन थापाको नेतृत्वमा सह–महामन्त्री बनेका छन्। उनले बदलिँदो सामाजिक चाहना र जेन–जी आन्दोलनको सन्दर्भ उल्लेख गर्दै पार्टीमा नयाँ नेतृत्व अपरिहार्य भएको बताए। पुरानै शैलीमा अघि बढे आगामी निर्वाचनमा काँग्रेसले गम्भीर चुनौती भोग्नुपर्ने उनको चेतावनी छ।

राणाले माघ ६ गते उम्मेदवारी दर्ता र फागुन २१ गतेको निर्वाचन तालिकाअघि नै निर्वाचन आयोगले विशेष महाधिवेशनको वैधानिकताबारे निर्णय गर्नुपर्ने माग गरे। देउवा पक्षलाई आधिकारिकता दिइए पनि आफ्नो पक्षको मुद्दा बलियो रहेको उनको दाबी छ।

आगामी निर्वाचनमा नेपाली काँग्रेसले कुनै पनि दलसँग गठबन्धन नगरी १६१ वटै निर्वाचन क्षेत्रमा आफ्नै उम्मेदवार उठाउने र गगन थापालाई भावी प्रधानमन्त्रीका रूपमा अघि सार्ने निर्णय भएको पनि राणाले जानकारी दिए।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार