काठमाडौँ : श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले आगामी निर्वाचनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह दुवैलाई पराजित गर्ने दाबी गरेका छन्।
बिहीबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै साम्पाङले झापा निर्वाचन क्षेत्र नम्बर ५ मा आफ्नो पार्टीले दुवै जनालाई ‘पाहा पछारेझैँ’ पछार्ने बताएका हुन्।
साम्पाङले लेखेका छन्, “हामी केपी ओली र बालेन दुवैलाई झापा–५ मा पाहा पछारेझैँ पछार्नेछौँ। जति नै भ्रमको अन्धकार छर, म आएर बोलेपछि एकै सेकेन्ड तिमीहरूको भ्रम टिक्नेवाला छैन।”
पछिल्लो समय एमाले अध्यक्ष ओलीको गृहक्षेत्र तथा ‘गढ’ मानिने झापा–५ मा काठमाडौँका मेयर बालेन शाहले उम्मेदवारी दिने चर्चा चलिरहेका बेला साम्पाङको यो अभिव्यक्ति आएको हो।
ओली र बालेनबीच मुख्य प्रतिस्पर्धा हुने विश्लेषण भइरहँदा तेस्रो शक्तिका रूपमा उदाएका साम्पाङले पनि सोही क्षेत्रमा आफ्नो दाबी प्रस्तुत गर्दै दुवैलाई खुला चुनौती दिएका छन्।
साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले आगामी फागुन २१ गते हुने निर्वाचनमा देशव्यापी रूपमा उम्मेदवारी दिने तयारी गरिरहेको जनाएको छ।
प्रतिक्रिया