विशेष महाधिवेशनकै कारण कांग्रेस टुट्यो : नैनसिंह महर

विहीबार, ०१ माघ २०८२

काठमाडौँ : अनेक चरणका द्विपक्षीय र बहुपक्षीय छलफलपछि पनि नेपाली काँग्रेसको विभाजन रोक्न नसकिएको संस्थापन पक्षका नेता नैनसिंह महरले स्वीकार गरेका छन्। 

महरले नियमित महाधिवेशन समयमै हुन नसक्नु, क्रियाशील सदस्यता नवीकरणमा कमजोरी र विशेष महाधिवेशनको मागले पार्टीलाई विभाजनतर्फ धकेलेको बताए।

जेन–जी आन्दोलनपछिको संवेदनशील अवस्थामा पार्टी एकताबद्ध भएर देशलाई निकास दिनुपर्ने बेला विशेष महाधिवेशनको एजेन्डा अघि सारिएकोप्रति उनले असन्तुष्टि व्यक्त गरे।

महरका अनुसार कार्यवाहक सभापति दिएर सहमति खोज्ने प्रयास भए पनि त्यसपछि पनि विशेष महाधिवेशन माग्दै आफैँ महाधिवेशन बोलाइएकाले एकताको प्रयास असफल भयो।

पार्टी सञ्चालन, संसदीय बोर्ड गठन र विशेष महाधिवेशनको स्वामित्वजस्ता विषयमा सहमति नजिक पुगेकै बेला नेतृत्व चयनका लागि मनोनयन सुरु भएपछि विवाद चर्किएको उनको भनाइ छ।

उनले विशेष महाधिवेशनमा दाबी गरिएजति प्रतिनिधि सहभागी नभएको र यसलाई आधिकारिक ठहराउन खोज्नु कानुनी तथा व्यावहारिक रूपमा मिल्दैन भने।

निर्वाचन आयोगसम्बन्धी तयारीबारे बोल्दै महरले महामन्त्रीहरूमाथि अनुशासनको कारबाही गरिएको जानकारी आयोगमा पठाइसकेको बताए।

काँग्रेस शेरबहादुर देउवाको नाममा दर्ता रहेको, समानुपातिक सूची तथा राष्ट्रिय सभा उम्मेदवार दर्ता भइसकेकाले संस्थापन पक्षलाई थप प्रक्रिया आवश्यक नरहेको उनको दाबी छ।

राजनीतिक दलसम्बन्धी ऐनअनुसार बहुमत केन्द्रीय समिति जहाँ हुन्छ, त्यही आधिकारिक हुने र चुनावचिह्न तथा झन्डा पनि त्यसैको हुने महरले स्पष्ट पारे।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार