लखेटिएको कुकुरले पायो नयाँ घर : चितवनको कुकुर यसरी पुग्यो अमेरिका

विहीबार, ०१ माघ २०८२

चितवन : केही महिनाअघि अमेरिकन आमाछोरी भरतपुरस्थित होटल ग्लोबलको परिसरमा बसिरहेका थिए। एक दिन छाडा कुकुर उनीहरू नजिक आइपुग्यो। पाहुनालाई कुकुरले टोक्ला कि भन्ने आशंकामा सुरक्षा गार्ड हतारिँदै आइपुगे र कुकुरलाई चोट लाग्ने गरी लखेटे। त्यो दृश्य देखेर ती आमाछोरीलाई नरमाइलो लाग्यो। दुवैको आँखा रसाए। उनीहरूले लखेटिएको कुकुर खोजेर ल्याइदिन सुरक्षा गार्डलाई आग्रह गरे।

अनुरोधअनुसार सुरक्षा गार्डले भागेको कुकुर खोजेर ल्याइदिए। आमाछोरीले कुकुरलाई सुमसुम्याउँदै माया गरे। माया मात्रै गरेनन्, सोही कुकुरलाई आफ्नो देश अमेरिका लैजाने निर्णयसमेत गरे।

ती विदेशी पाहुनाको व्यवस्थापनमा सहयोग गरेका विनोद ढकालका अनुसार उक्त कुकुर यसै साता अमेरिका पुगेको छ। उनका अनुसार अमेरिकी नागरिक ५० वर्षीया चन्दा रेनेग्रेगर र उनकी १६ वर्षीया छोरी म्याडिसनले लखेटिएको कुकुरलाई आवश्यक प्रक्रिया पूरा गरेर अमेरिका लगेका हुन्।

ढकालले भने, “कुकुरलाई पिट्दा रोएका ती आमाछोरीले अमेरिका लैजान्छौँ भनेपछि सबै प्रक्रिया पूरा गरेर पठाइएको हो। गत आइतबार त्यहाँ पुगेको खबर पाउँदा निकै खुसी लागेको छ।”

गत जुनमा उनीहरू नेपाल आएका थिए। दुई साता सोही होटलमा बस्ने क्रममा यो घटना भएको थियो। ढकालका अनुसार त्यसपछि पूर्वनिर्धारित कार्यसूचीका कारण उनीहरूले कुकुरको रेखदेखका लागि एक व्यक्तिलाई जिम्मा लगाएर फर्किएका थिए।

उनले भने, “पशु चिकित्सकको परामर्शमा नियमित स्वास्थ्य परीक्षण गरियो। पछि ‘फिट टु फ्लाइट’ अनुमति र पेट पासपोर्ट बनाएर कतार एयरलाइन्समार्फत कुकुरलाई पठाइयो। कुकुर अहिले अमेरिकाको कोलोराडो पुगेको छ।”

कुकुरलाई अमेरिका पु-याउने सबै प्रक्रिया पूरा गर्न आमाछोरीले १० हजार अमेरिकी डलरभन्दा बढी खर्च गरेको ढकालले बताए।

“मानिसलाई जनावरप्रतिको माया कति गहिरो हुन्छ भन्ने कुरा उनीहरूबाट बुझ्न पाएँ। अमेरिका पुगेपछि दुई दिन क्वारेन्टिनमा राखिएको र स्वास्थ्य परीक्षणपछि बाहिर हिँडाइएको तस्बिर तथा भिडियो प्राप्त भएपछि म पनि ढुक्क भएको छु,” ढकालले भने।

प्रतिक्रिया

रासस
लेखकको बारेमा
रासस

नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।

सम्बन्धित समाचार