माघे संक्रान्तिमा देवघाटधाम रंगीन रौनकमा: तीन लाख भक्तजन आउने अनुमान

विहीबार, ०१ माघ २०८२
file pic

चितवन : तनहुँ, चितवन र नवलपुरको संगमस्थल देवघाटधाममा माघे सङ्क्रान्ति मेलामा भक्तजनको ठुलो चहलपहल सुरु भएको छ।

बुधवार दिउँसो वेणीसंगममा लिङ्गो गाडेर मेलाको औपचारिक शुभारम्भ गरिएको थियो र बुधवार रातिदेखि नै देशका विभिन्न भागबाट भक्तजन आउने क्रम बढेको छ।

देवघाट क्षेत्र विकास समितिका अनुसार यस वर्षको मेलामा झन्डै तीन लाख भक्तजनले पवित्र स्नान गर्ने अनुमान गरिएको छ।

पवित्र त्रिशूली र कालीगण्डकी नदीको संगमस्थल देवघाटमा माघ महिनाभर स्नान गर्नाले पुण्य प्राप्त हुने र विशेषगरी मकर सङ्क्रान्तिको दिन यहाँको स्नानको ठुलो धार्मिक महत्त्व हुने विश्वास गरिन्छ।

भक्तजनको सुविधा र सुरक्षालाई ध्यानमा राख्दै क्षेत्र विकास समितिले तीनै जिल्लाका प्रशासन र सुरक्षा निकायसँग समन्वय गरी विशेष प्रबन्ध मिलाएको छ। मेला अवधिभर कुनै अप्रिय घटना नहोस् भन्नका लागि ३०० भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ।

यातायात व्यवस्थापनका लागि चितवनतर्फबाट भक्तजनलाई रामनगर वा दासढुङ्गा हुँदै देवघाट प्रवेश गर्न र फर्कँदा बागेश्वरी हुँदै आँपटारी निस्कने गरी एकतर्फी मार्ग तय गरिएको छ।

मुग्लिनतर्फबाट आउने सवारीसाधनका लागि दासढुङ्गाबाटै प्रवेश र सोही बाटो फिर्ता हुने व्यवस्था मिलाइएको छ। सवारी पार्किङका लागि सीताराम संस्कृत माविको परिसर र दाहसंस्कार स्थल नजिकैको बसपार्क तोकिएको छ।

तनहुँतर्फबाट आउने पैदल यात्रुको लागि पनि छुट्टाछुट्टै मार्ग निर्धारण गरिएको छ। मेला क्षेत्रलाई व्यवस्थित बनाउन देवघाटधाममा धूम्रपान, मदिरा र सुर्तीजन्य पदार्थको बिक्री तथा सेवनमा पूर्ण प्रतिबन्ध लगाइएको छ।

भक्तजनको सुरक्षाका लागि वेणीमा नुहाउने ठाउँ डोरीले घेरिएको सुरक्षित क्षेत्रमा सीमित गरिएको छ र गहिरो भागमा जान निषेध गरिएको छ। नदीको पानीको बहाव र गहिराइलाई ध्यानमा राख्दै जोखिमपूर्ण स्थानमा खतराको सङ्केत पनि राखिएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार