काठमाडौँ : नेपाली काँग्रेसले महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापालाई पार्टीको केन्द्रीय समितिको निर्णयविरुद्ध नजान कडा चेतावनी दिएको छ।
पार्टीलाई एकीकृत बनाएर अघि बढ्ने विषयमा मङ्गलवार विभिन्न चरणमा छलफल भएको जनाउँदै काँग्रेसले बुधवार बिहानसम्म सहमतिका साथ अघि बढ्न आग्रह गरेको हो।
पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले केन्द्रीय समितिको निर्णय नमानिए अन्य निर्णय लिनुपर्ने अवस्था आउन सक्ने चेतावनी दिए। वार्ता र संवादबाटै सहमति खोज्न संस्थापन पक्षले अधिकतम लचकता देखाइरहेको उल्लेख गर्दै उनले सम्पूर्ण पार्टी पङ्क्ति एक भएर निर्वाचनमा जानुपर्ने बताए।
अहिले पार्टी विभाजन र विग्रहतर्फ उन्मुख हुने समय नभएको उनको भनाइ थियो। अझै पनि सकारात्मक नतिजा निस्कनेमा आफूहरू आशावादी रहेको महतले बताए। पार्टीलाई एकताबद्ध गर्दै आम निर्वाचनमा गएर राम्रो परिणाम हासिल गरेपछि नियमित अधिवेशनमार्फत नयाँ नेतृत्व चयन गर्ने स्पष्ट रणनीति काँग्रेसको रहेको उनको भनाइ छ।
“वार्ता र संवाद नेतृत्व तहबाट निरन्तर भइरहेको छ,” महतले भने, “आजको छलफलमा पनि हाम्रो प्रयास सम्पूर्ण पार्टी पङ्क्ति एक भएर अघि बढ्ने नै हो। विशेष अधिवेशनको बहानामा विभाजनतर्फ जानु हुँदैन, अहिले एकताको आवश्यकता छ।”
उनले थपे, “सबै एकजुट भएर आम निर्वाचनमा गए पार्टीको पक्षमा राम्रो परिणाम आउँछ। त्यसपछि नियमित अधिवेशनबाट नयाँ नेतृत्व चयन हुन्छ। पार्टीलाई मजबुत बनाउने विषयहरू केन्द्रीय समितिले समावेश गरेर अघि बढ्न सक्छ।”
काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक बुधवार बिहान पुनः बस्नेछ। सो बैठकलाई पार्टीको आन्तरिक विवाद समाधानका लागि निर्णायक मानिएको छ।
प्रतिक्रिया