सोलुखुम्बुमा बस दुर्घटना हुदाँ दुई यात्री घाइते, चालक फरार

शुक्रबार, २८ कार्तिक २०८२

सोलुखुम्बु : सोलुखुम्बुको सोलु दुधकुण्ड नगरपालिका–८, बनभाडे स्थित सिद्धिचरण लोकमार्गमा शुक्रबार बिहान भएको बस दुर्घटनामा दुई जना यात्री घाइते भएका छन्।

बिहान करिब ५:१५ बजे सल्लेरीबाट काठमाडौंतर्फ जाँदै गरेको बागमती प्रदेश नं. ०१–००६ ख ६३२७ नम्बरको श्री उग्रचण्डी यातायातको बस अनियन्त्रित भई सडक छेउतिर पल्टिँदा दुर्घटना भएको हो। बसमा चालक, सहचालक, कन्टेक्टरसहित १० जना सवार थिए।

दुर्घटनामा रौतहट, गरुडा नगरपालिका–६ निवासी ३६ वर्षीया जानुका रसाइलीको टाउकोमा चोट लागेको छ भने भारत, उत्तर प्रदेश मेरठका ३० वर्षीय एकिनचन जेनको दाहिने हातमा चोट लागेको प्रहरीले जनाएको छ। घाइते दुवै जनालाई उपचारका लागि ओखलढुंगा सामुदायिक मिसन अस्पताल पठाइएको छ। दुबै जनाको अवस्था सामान्य रहेको र बोल्न सक्ने अवस्थामा रहेको बताइएको छ।

दुर्घटनापछि बस चालक ओखलढुङ्गा मानेभन्ज्याङ गाउँपालिका–३ उँवुका विनोद अधिकारी फरार रहेको र उनको खोजी भइरहेको प्रहरी स्रोतले जनाएको छ। दुर्घटनाले सडक अवरुद्ध नबनेको र बसको बायाँ भागमा क्षति पुगेको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार