काठमाडौँ : नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशन पदका लागि नभई पार्टी रूपान्तरणका लागि गरिएको स्पष्ट पारेका छन्। विशेष महाधिवेशन पक्षधरले आयोजना गरेको बन्दसत्रको दोस्रो दिन सम्बोधन गर्दै उनले आफूलाई कुनै पद नचाहिएको बताए।
थापाले पार्टीको आन्तरिक लोकतन्त्रमा प्रश्न उठाउनु सबैको अधिकार भएको उल्लेख गर्दै प्रश्न गर्नु आफैँमा विद्रोह भएको तर्क गरे। “प्रश्न गर्नु विद्रोह हो। मौन बस्नु भनेको मृत्युलाई अङ्गाल्नु जस्तै हो,” उनले भने।
उनले पार्टीभित्र गुटभन्दा गिरोह बढ्दै गएको टिप्पणी गर्दै सङ्गठन बदल्नुपर्ने आवश्यकता औँल्याए। बाहिर चलाइने हल्लाको पछि नलाग्न आग्रह गर्दै थापाले भागबन्डाको आरोपलाई अस्वीकार गरे। “म हल्लाको पछि लागेको छैन, तपाईँहरू पनि नलाग्नुस्,” उनले भने।
थापाले बन्दसत्रको म्यान्डेट सबैले स्विकार्नुपर्ने बताए। “बाहिर हुने कुनै सहमतिलाई पनि यही हलले अपनत्व लिएपछि मात्र अगाडि बढ्नुपर्छ,” उनले जोड दिए। विशेष महाधिवेशनलाई उपलब्धिमूलक ढङ्गले टुङ्ग्याउनुपर्नेमा उनले सबैलाई एकताबद्ध हुन आग्रह गरे।
प्रतिक्रिया