चुनावअघि नेतृत्व परिवर्तनमा गगन अडिग: खड्काको आग्रह अस्वीकार गर्दै भने ‘विशेष महाधिवेशन अपरिहार्य’

विहीबार, २४ पुस २०८२

काठमाडौँ : नेपाली काँग्रेसमा विशेष महाधिवेशनलाई लिएर मतभेद चर्किँदै गएको छ। कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विशेष महाधिवेशनको प्रस्ताव फिर्ता लिन गरेको आग्रह महामन्त्री गगन थापाले अस्वीकार गरेका छन्।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहीबार साँझ बसेको कार्यसम्पादन समिति बैठकमा खड्काले नियमित महाधिवेशनको कार्यसूची सार्वजनिक भइसकेको अवस्थामा विशेष महाधिवेशन आवश्यक नरहेको तर्क प्रस्तुत गर्दै प्रस्ताव फिर्ता लिन अपिल गरेका थिए। तर महामन्त्री थापाले उक्त अपिललाई ठाडै अस्वीकार गरे।

बैठकमा थापाले भने, “नियमित महाधिवेशनको क्यालेन्डर घोषणा भएपछि विशेष महाधिवेशनको अर्थ रहँदैन भन्नु मागको मूल मर्मलाई बिर्सिनु हो। चुनावअघि नै नेतृत्व फेर्नुपर्ने मागलाई नियमित अधिवेशनको अल्झनमा पारेर पन्छाउन मिल्दैन।”

महामन्त्री थापाले प्रक्रियाबाट भाग्न खोज्नु पार्टीका लागि घातक हुने चेतावनी पनि दिए। विधानअनुसार अघि बढ्न नचाहेर अवैधानिक बाटो रोज्नु दीर्घकालीन रूपमा पार्टीलाई कमजोर बनाउने उनको भनाइ थियो।

पार्टी विधान र वर्तमान राजनीतिक परिस्थितिको विश्लेषण गर्दै थापाले नियमित महाधिवेशनको कार्यसूची घोषणा भएकै आधारमा विशेष महाधिवेशनको औचित्य समाप्त नहुने स्पष्ट पारे। विशेष महाधिवेशनको माग गर्नु महाधिवेशन प्रतिनिधिहरूको विशिष्ट अधिकार भएको उनले जोड दिए।

महामन्त्री थापाले विशेष महाधिवेशनको मूल उद्देश्य पनि खुलाएका छन्। “अहिले विशेष महाधिवेशन किन चाहियो भने असाधारण अवस्था छ। चुनावभन्दा अघि नै नेतृत्व परिवर्तन गर्नुपर्छ,” उनले भने, “यदि नियमित महाधिवेशनले यो आवश्यकता सम्बोधन गर्न सक्दैन भने विशेष महाधिवेशन नै एकमात्र विकल्प हो।”

 

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार