उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–५ गेरुवाई खोलानजिक पिपलचौरीमा आज बिहान भएको ट्र्याक्टर दुर्घटनामा एक जनाको ज्यान गएको छ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार, पिपलचौरीबाट लालपत्ता तर्फ जाँदै गरेको ना १ त ५४३५ नम्बरको थ्रेसर मेसिन जडान गरिएको ट्र्याक्टर बिहान करिब ८ः४५ बजे दुर्घटनाग्रस्त भएको हो। गुडिरहेको अवस्थामा सोही ट्र्याक्टरमा सवार एक व्यक्ति अचानक खसेर गम्भीर घाइते भएका थिए।
घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल उदयपुर ल्याइएपछि चिकित्सकले उनलाई मृत घोषणा गरेका छन्। मृत्यु हुनेमा त्रियुगा नगरपालिका–५ पिपलचौरीका ५८ वर्षीय दमसेर राई रहेका छन्। उनी सोही ट्र्याक्टरका कामदार रहेको प्रहरीले जनाएको छ।
दुर्घटनापछि चालक फरार रहेका कारण प्रहरीले ट्र्याक्टर नियन्त्रणमा लिएर चालकको खोजीकार्य सुरु गरेको जनाएको छ।
प्रतिक्रिया