झापा । जेनजी आन्दोलनका क्रममा झापाका विभिन्न स्थानमा भएका तोडफोड, आगजनी तथा लुटपाटका घटनामा संलग्न रहेको आरोपमा प्रहरीले धमाधम पक्राउ अभियान अघि बढाएको छ।
कनकाई नगरपालिका–३ का विष्णु बराइलीलाई प्रहरीले नगरपालिकाको सम्पत्तिमा तोडफोड र आगजनी गरेको अभियोगमा पक्राउ गरेको हो। प्रहरीका अनुसार बराइलीको नेतृत्वमा कनकाई नगरपालिकाको कार्यालय, सवारीसाधन र निजी घरहरूमा तोडफोड, आगजनी र लुटपाट गरिएको आरोप छ। हाल उनी प्रहरी नियन्त्रणमा रहेका छन्।
आन्दोलनका क्रममा कनकाई नगरपालिका वडा नं–१ स्थित नगरपालिकाको कार्यालयमा आगजनी र तोडफोड, नगरप्रमुख राजेन्द्रकुमार पोखरेलका दुईवटा घरमा तोडफोड र लुटपाट, उपप्रमुख आशाकुमारी शिवाकोटीको घरमा तोडफोड, वडाध्यक्ष युवराज चौलागाईंको घरमा क्षति, र कनकाई–३ स्थित इलाका प्रहरी कार्यालय सुरुङ्गाको भवन तथा सवारीसाधनमा समेत आगजनी गरिएको थियो।
त्यसैगरी, नेपाली कांग्रेस झापा जिल्ला सभापति देउकुमार थेबेको घरमा पनि आन्दोलनकारीहरूले तोडफोड गरी घरभित्रका सामग्री बाहिर ल्याएर आगजनी गरेको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय सुरुङ्गाले घटनामा संलग्न अन्य व्यक्तिहरूको पनि पहिचान भइसकेको र उनीहरूको खोजी कार्य जारी रहेको जानकारी दिएको छ।

यसैबीच, इलाम चुलाचुली गाउँपालिका–३ का २२ वर्षीय नकुल अधिकारी र चुलाचुली–५ का १९ वर्षीय रियाज सिलवाललाई इलाका प्रहरी कार्यालय दमकले पक्राउ गरेको छ। उनीहरूलाई इलाका प्रहरी कार्यालय दमकमा तोडफोड र आगजनी गरेको अभियोगमा नियन्त्रणमा लिइएको हो।
प्रहरी निरीक्षक राजकुमार श्रेष्ठको नेतृत्वमा गरिएको अनुसन्धान अनुसार, आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय दमक र बिर्तामोडमा आक्रमण गर्ने समूहमाथि पनि कडा निगरानी राखिएको छ।
प्रहरी स्रोतका अनुसार, जेनजी आन्दोलनका क्रममा सहभागी मध्ये आगजनी र तोडफोडमा सम्लग्न भएको आरोपमा हालसम्म १० जना पक्राउ परेका छन् भने घटनामा संलग्न अन्यको पहिचानका लागि भिडियो फुटेज र तस्बिरका आधारमा खोजी जारी राखिएको छ ।
_MDqCT3IiJq.jpg)
जेनजी आन्दोलनका क्रममा सार्वजनिक तथा निजी सम्पत्तिमा तोडफोड, आगजनी, लुटपाट र कुटपिटसम्बन्धी ५० भन्दा बढी उजुरी दर्ता भएको प्रहरी स्रोतले जनाएको छ। ती उजुरीमाथि अनुसन्धान तीव्र रूपमा भइरहेको बताइएको छ।
प्रहरीले प्रमाणका आधारमा आन्दोलनका क्रममा हिंसात्मक गतिविधिमा संलग्नहरूलाई क्रमशः पक्राउ गर्दै कारबाही अघि बढाउने जनाएको छ।
प्रतिक्रिया