काठमाडौँ : मन्त्रिपरिषद् बैठकबाट स्वीकृत गराएर अमेरिका भ्रमणमा जान लागेका युवा तथा खेलकुदमन्त्री बब्लु गुप्तामाथि राजीनामाको दबाब बढेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीका रूपमा रवि, कुलमान र बालेनको सम्झौता समारोहमा सहभागी गुप्तालाई रास्वपासँगको आबद्धता विषयमा स्पष्ट भई पार्टीमा लाग्ने भए राजीनामा दिन प्रधानमन्त्री सुशीला कार्कीले दबाब दिइरहँदा, अमेरिका भ्रमण विवादले समेत थप दबाब बढाएको हो।
एनआरएनए अमेरिकाको आयोजनामा हुने भनिएको ‘रोल अफ एनआरएनए यूथ इन द डेभलपमेन्ट अफ नेपाल पोस्ट जेनजि रिभोल्युसन’ कार्यक्रमका लागि जाने भनी मन्त्रिपरिषद्बाट निर्णय गरिएपछि गुप्ताको भ्रमणसँग जोडेर विवाद भएको हो।
मन्त्रीले भ्रमण गर्ने स्तरको कार्यक्रम नभएको र यस्ता कार्यक्रममा विदेश भ्रमण गर्नु सदाचार नीति विपरीत भएको भन्दै आलोचना सुरु भइसकेको थियो। मानव तस्करीको आशङ्कासम्म जोडिएपछि उनी थप विवादमा परेका छन्।
मन्त्रिपरिषद्को गत ५ असोजको निर्णयअनुसार निर्माण भएको सदाचार नीति विपरीत विदेश भ्रमणमा जान लागेको भन्दै मन्त्रिपरिषद्भित्रबाट समेत गुप्ताको विरोध भएको थियो। मन्त्रिपरिषद्को २२ पुसको बैठकबाट भ्रमणको स्वीकृति दिइए पनि अमेरिकामा हुने कार्यक्रमको मिति निर्धारण नभएको मन्त्री गुप्तादेखि आयोजक संस्थाले प्रस्ट्याएका छन्।
युवा तथा खेलकुदमन्त्रीको अमेरिका भ्रमण विषयमा विवाद भएपछि बिहीबार अमेरिकाबाट जारी दुई संस्थाका विज्ञप्तिले आशङ्काको चाङ थपेको छ। अमेरिकामा जेनजि रिभोल्युसनसँग सम्बन्धित कार्यक्रम आयोजना गर्ने बेलासम्म मन्त्रीसँग संवादमा रहेका एनआरएनए अमेरिका अध्यक्ष विकास उप्रेती र युवा विभाग प्रमुखले कार्यक्रमका लागि निम्तो भएको भन्दै विज्ञप्ति निकालेका छन्।
उनीहरूको विज्ञप्तिमै ‘भ्रमण स्वीकृत भएपछि मिति र विस्तृत कार्यक्रम सार्वजनिक गरिने’ तयारी रहेको उप्रेती अध्यक्ष रहेको एनआरएनएका प्रवक्ता द्रोण गौतमले जनाएका छन्।
एकातिर आफूहरूले निम्तो दिएको भन्दै विज्ञप्ति सार्वजनिक भइरहँदा, संयुक्त राज्य अमेरिकामा कानुनी रूपमा दर्ता भएको आधिकारिक संस्था आफूहरू भएको र खेलकुदमन्त्री गुप्तालाई निम्तो गरिएको भन्दै अर्को विज्ञप्ति पनि बिहीबार राति सार्वजनिक भएको थियो।
आयोजकको नाम, ईआईएन नम्बर तथा वेबसाइट समेत दुरुपयोग भएको दाबी गर्दै नेपालबाट कुनै मन्त्रीलाई कार्यक्रममा निम्तो नगरिएको भन्ने ब्यहोरा उल्लेख गर्दै अर्को विज्ञप्ति जारी गरिएको थियो। मन्त्रीको भ्रमणका नाममा मानव तस्करी हुन सक्ने भन्दै खबरदारीसमेत गरिएको थियो।
राष्ट्रिय आवश्यकता र कूटनीतिक महत्वको हिसाबले अत्यावश्यक नभएको विदेश भ्रमण नगर्ने सदाचार नीति सार्वजनिक गरेको सरकारले, आन्तरिक र संस्थागत विवादको बीचमा पनि गुप्तालाई अमेरिका भ्रमणमा जान रोक्न खोजिरहेको छ।
कार्यक्रममा कूटनीतिक अर्थ नभएको भन्दै मन्त्रिपरिषद्मा सुझाव दिइए पनि जिद्दी गरेर स्वीकृत गराइएको भ्रमण विषयमा राजधानी दैनिकमा समाचार प्रकाशित भएपछि गुप्तालाई अमेरिका भ्रमण रद्द गर्न दबाब बढेको थियो।
मन्त्रीले अमेरिका भ्रमणको पक्षमा वकालत गर्दै जेनजि कार्यक्रमका माग पूरा गर्न आफू अमेरिका जानुपर्ने प्रकृतिका अभिव्यक्ति दिन थालेपछि उनीविरुद्ध राजीनामाको दबाब बढेको छ। मन्त्रीको भ्रमणमा मानव तस्करीको विषय जोडिएपछि गृहमन्त्री ओमप्रकाश अर्यालदेखि प्रधानमन्त्री सुशीला कार्कीसमेतले खेलकुदमन्त्री गुप्तालाई राजीनामा दिन आग्रह गरेका छन्।
प्रतिक्रिया