काठमाडौँ : राष्ट्रियसभा निर्वाचनमा प्रमुख दलहरूबीच गठबन्धन बनेपछि त्यसलाई निरन्तरता दिँदै प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि गठबन्धन गर्ने विषयमा दलहरूबीच गृहकार्य सुरु भएको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा गठबन्धन बनाएर चुनावमा सहभागी हुनेबारे प्रमुख दलहरूबीच प्रारम्भिक छलफल सुरु भएको हो ।
नेपाली काँग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले)बीच चुनावी गठबन्धनबारे छलफल भइरहेको छ । जेन–जी आन्दोलनपछि नयाँ शक्ति एकजुट हुन थालेपछि प्रमुख दलहरू पनि चुनावी गठबन्धनतर्फ उन्मुख भएका हुन् ।
राष्ट्रियसभा निर्वाचनका लागि काँग्रेस, एमाले र लोकतान्त्रिक समाजवादी पार्टीबिच गठबन्धन बनेको छ । यस गठबन्धनमा जनता समाजवादी पार्टी पनि सहभागी छ ।
राष्ट्रियसभा निर्वाचनका लागि सुरुमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयोजक र माधवकुमार नेपाल सहसंयोजक रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)सहितको गठबन्धन बनेको थियो । तर प्रचण्ड नयाँदिल्ली भ्रमणबाट फर्किएपछि सिट बाँडफाँटमा सहमति नजुट्दा नेकपा गठबन्धनबाट बाहिरिएको हो ।
प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा काँग्रेस र एमालेबीच नजिकिएको देखिन्छ । काँग्रेस सभापति शेरबहादुर देउवालाई एमालेसँग गठबन्धन नगर्न पार्टीभित्रबाट महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मासहितका नेताहरूले दबाब दिँदै आएका छन् । तर एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पटक–पटक छलफल गर्दै आएका देउवा गठबन्धनका लागि सहमत भएको स्रोतको दाबी छ ।
स्रोतका अनुसार राष्ट्रियसभा निर्वाचनमा बनेको काँग्रेस–एमाले गठबन्धन प्रतिनिधिसभा निर्वाचनसम्म निरन्तर हुन सक्ने सम्भावना छ । देउवा र ओलीबीच यस विषयमा निरन्तर संवाद भइरहेको बताइन्छ ।
‘जहाँ काँग्रेस वा एमालेका उम्मेदवारलाई अन्य दलले जित्ने सम्भावना देखिन्छ, त्यहाँ अनिवार्य गठबन्धन हुन्छ । तर जहाँ काँग्रेस र एमालेबीच प्रतिस्पर्धा हुँदा आफ्नै उम्मेदवार विजयी हुने निश्चित छ, त्यहाँ गठबन्धन नहुन पनि सक्छ,’ स्रोतले भन्यो ।
देउवा र ओलीबीच भक्तपुर–१ बाहेक अधिकांश निर्वाचन क्षेत्रमा गठबन्धन गर्नेबारे छलफल भएको बताइन्छ । १६५ सिटमध्ये काँग्रेस र एमालेले ८२÷८२ सिट लिने एक विकल्पमा छलफल भएको छ । त्यस्तै, जहाँ काँग्रेस वा एमालेकै उम्मेदवार जित्ने सुनिश्चित देखिन्छ, त्यहाँ मित्रवत् प्रतिस्पर्धा गर्ने र बाँकी सिट आधा–आधा बाँड्ने दोस्रो विकल्पमा पनि छलफल भइरहेको छ ।
तेस्रो विकल्पका रूपमा २०७९ को निर्वाचनमा जुन पार्टीले जितेको निर्वाचन क्षेत्र हो, त्यही पार्टीलाई समर्थन गर्ने र बाँकी सिट मत–प्रतिशतका आधारमा भागबन्डा गर्ने प्रस्ताव पनि देउवा–ओलीबीच छलफलमा आएको छ । यी सबै विकल्पसहित १६५ वटै निर्वाचन क्षेत्रको गहन अध्ययनमा दुवै पार्टीका नेताहरू जुटेका छन् ।
देउवा र ओलीबीचको छलफलमा करिब सय निर्वाचन क्षेत्रमा काँग्रेस र एमालेबीच सीधा प्रतिस्पर्धा हुने र बाँकी सिटमा नेकपा, रास्वपा, राप्रपा, जसपा, आजपा, जनमत पार्टीलगायत दलसँग प्रतिस्पर्धा हुन सक्ने आङ्कलन गरिएको छ ।
सहरी क्षेत्र, विशेषगरी काठमाडौँ उपत्यकामा रास्वपासँग प्रतिस्पर्धा हुन सक्ने अनुमान गरिएको छ भने सुदूरपश्चिम र कर्णालीमा नेकपा तथा मधेशमा जसपा, आजपा, जनमत र पूर्वमा हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीसँग प्रतिस्पर्धा हुन सक्ने आङ्कलन छ ।
चुनावी गतिविधि तीव्र बन्दै गएपछि प्रधानमन्त्री सुशीला कार्की र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच बिहीबार तीन घण्टाभन्दा बढी भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको यो भेटवार्ता कार्की र ओलीबीचको पहिलो ‘वान–टु–वान’ भेट हो ।
जेन–जी आन्दोलनपछि सत्ता गुमाएका ओलीले कार्की नेतृत्वको सरकारलाई अवैध र असंवैधानिक भन्दै आलोचना गर्दै आएका छन् ।
उनले प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै अदालतसमेत पुगेका छन् । यसअघि सामूहिक रूपमा दुई पटक भेटघाट भए पनि एक्लाएक्लै भएको यो भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
बुधवार मात्रै ओलीले सार्वजनिक कार्यक्रममा सरकारले चुनाव गराउने वातावरण नबनाएको आरोप लगाएका थिए । सरकारको आलोचना गरेको भोलिपल्टै भएको भेटवार्ताले राजनीतिक वृत्तमा विभिन्न अड्कल काटिएको छ ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार कार्की र ओलीबीच आगामी निर्वाचन केन्द्रित विषयमा छलफल भएको हो ।
प्रतिक्रिया