काठमाडौँ : कर्णाली प्रदेशका दश जिल्लामध्ये नौ जिल्लाका नेपाली काँग्रेसका सभापतिहरूले औचित्य सकिएको ‘विशेष महाधिवेशन’मा सहभागी नहुन अपिल गरेका छन्।
नेपाली काँग्रेस हुम्लाका सभापति मोहनविक्रम सिंह, मुगुका सभापति ऐनबहादुर शाही, जुम्लाका सभापति कर्णबहादुर शाही, कालीकोटका सभापति अम्बहादुर शाही, डोल्पाका कार्यवाहक सभापति लवकुमार शाही, जाजरकोटका सभापति वेदराज सिंह, दैलेखका सभापति मणिराम रेग्मी, रुकुम पश्चिमका सभापति प्रेमप्रकाश ओली, सुर्खेतका सभापति खड्गबहादुर पोखरेल र सल्यानका उपसभापति सन्तोष ओलीले आज एक संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै पार्टीको आधिकारिक निर्णयबिना कुनै व्यक्ति विशेषबाट आह्वान गरिएको ‘विशेष महाधिवेशन’मा सहभागी नहुन अपिल गरेका छन्।
उनीहरूले प्रेस विज्ञप्तिमा भनेका छन् कि पार्टी विधि र विधानअनुसार सञ्चालन हुँदै आएको काँग्रेसलाई व्यक्तिको चाहनाअनुसार चलाउन सकिँदैन। नियमित महाधिवेशन र आमनिर्वाचनलाई असर गर्ने गरी आह्वान गरिएको विशेष महाधिवेशनले पार्टी एकतालाई गम्भीर क्षति पुर्याउने र मुलुकलाई अस्थिरतामा धकेल्ने खतरा रहेको छ।
नौ सभापतिहरूले केन्द्रीयदेखि स्थानीय तहसम्मका सबै पदाधिकारी, सदस्य, महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य, भातृ तथा शुभेच्छुक सङ्घ-संस्था र विदेशस्थित नेपाली जनसम्पर्क समितिका सदस्यहरूलाई पार्टीको आधिकारिक निर्णयको सम्मान गर्न आग्रह पनि गरेका छन्।
‘विशेष महाधिवेशन’को पक्षमा देखिएका सल्यान सभापति केशरबहादुर विष्ट बाहेक अन्य सभापतिहरूको संयुक्त विज्ञप्तिमा भनिएको छ, “केन्द्रीय कार्यसम्पादन समितिको निर्णय विपरीत आह्वान गरिएको ‘विशेष महाधिवेशन’ले पार्टी र मुलुक दुवैलाई दुर्घटनातर्फ लैजाने खतरा छ। त्यसैले पार्टी एकतालाई कमजोर पार्ने कुनै पनि गतिविधिमा सहभागी नहुन सम्पूर्ण पार्टी पङ्क्तिलाई हार्दिक अपिल गर्दछौँ। केन्द्रीय कार्यसमितिबाट प्रकाशित कार्यतालिकाअनुसार नियमित १५औँ महाधिवेशनको प्रक्रिया अघि बढिरहेको अवस्थामा त्यसको विकल्पका रूपमा प्रस्तुत गरिएको विशेष महाधिवेशन स्वतः निष्क्रिय भइसकेको छ।”
प्रतिक्रिया