गौरादहमा ट्याक्टर दुर्घटना हुदाँ एक जनाको मृत्यु, चारजना घाइते

शनिबार, २६ पुस २०८२

इटहरी । झापाको गौरादह नगरपालिकामा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।हिजो (शुक्रबार)राति करिब १०ः३० बजेको समयमा गौरादह नगरपालिका–५  चान्दुखोला स्थित भित्री सडक खण्डमा बालुबथानबाट फकिटिप गाउँतर्फ जाँदै गरेको मे १ त ७१०८ नम्बरको खाली ट्याक्टर अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा ट्याक्टरमा सवार गौरादह नगरपालिका–७ निवासी अन्दाजी ३५ वर्षीय महमत माजिम गम्भीर घाइते भएका थिए। उपचारका लागि दमक अस्पताल पुर्‍याइएका उनलाई चिकित्सकले जाँचका क्रममा मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ। मृतकको शव सोही अस्पतालमा राखिएको छ।

दुर्घटनामा परेर अन्य चार जना घाइते भएका छन्। घाइतेमध्ये गौरादह नगरपालिका–७ निवासी ४९ वर्षीय सत्य नारायण राजवंशीको बायाँ खुट्टामा सामान्य चोट लागेको छ भने २३ वर्षीय संजित ऋषीदेवको शरीरका विभिन्न भागमा चोट लागेको छ। यस्तै, २३ वर्षीय अभिजुल मियाको देब्रे खुट्टामा मध्यम चोट लागेको छ भने गौरादह नगरपालिका–७ निवासी ३४ वर्षीय केलु मियाको छातीमा चोट लागेको छ। सबै घाइतेको दमक अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

ट्याक्टर चालक गौरादह नगरपालिका–७ निवासी ३८ वर्षीय यम प्रसाद राजवंशी दुर्घटनापछि फरार रहेका छन्। उनको खोजतलास कार्य भइरहेको र घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार