सियोल, दक्षिण कोरिया : विदेशको माटोमा उज्यालो भविष्य र उच्च शिक्षाको सपना बोकेर पुगेकी २२ वर्षीया नेपाली छात्रा मनीषा दाहालको सडक दुर्घटनामा दर्दनाक मृत्युले नेपाली समुदायलाई स्तब्ध पारेको छ।
दक्षिण कोरियाको चुङबुक उम्सङ क्षेत्रमा शनिवार सडकछेउ हिँड्दै गरेकी मनीषा मालवाहक ट्रकको ठक्करबाट गम्भीर रूपमा घाइते भइन्।
उनीलाई तत्काल वनजु सेब्रान्स क्रिश्चियन अस्पताल पुर्याइए पनि चिकित्सकहरूले उनको ज्यान जोगाउन सकेनन्।
झापाको कमल गाउँपालिका–तोपगाछिकी कान्छी छोरी मनीषा तीन दिदीबहिनीमध्ये सबैभन्दा सानी थिइन्।
केही दिनअघि मात्र उनी साथीहरूसँग रमाइलो गर्दै २२औँ जन्मदिन मनाएकी थिइन्। कलेजको शनिवार–आइतबारको बिदामा साथीहरूसँग घुम्न निस्किएकी उनी दुर्भाग्यवश यस दुःखद घटनाको शिकार भइन्।
“उनी हामीसँगै हाँस्दै, सपना साट्दै थिइन्, तर अचानक सबै सकियो,” आफन्तले प्रदेश खबरसँग दुखेसो पोखे। उनका शब्दमा, “मनीषाको उज्यालो भविष्यलाई एक क्षणमै अन्धकारले ढाक्यो।”
मनीषाको शव नेपाल ल्याउने तयारीमा उनका परिवारका सदस्यहरू काठमाडौँ पुगेका छन्।
कोरियामा रहेका नेपाली सङ्घ–संस्थाहरूले शव ल्याउने प्रक्रिया सहज बनाउन तथा परिवारलाई भावनात्मक र आर्थिक सहयोग जुटाउने काममा सक्रियता देखाएका छन्।
सामाजिक सञ्जालमा पनि नेपाली समुदायले शोक व्यक्त गर्दै सहयोगको अपिल गरिरहेका छन्।
विदेशमा पढ्न गएका नेपाली विद्यार्थीहरू सवारी दुर्घटनाको शिकार बन्ने क्रम दिनानुदिन बढ्दै गएको तथ्यले फेरि एकपटक विदेशी भूमिमा नेपालीहरूको सुरक्षा र सतर्कताप्रति गम्भीर प्रश्न उठाएको छ।
कोरियामात्र होइन, अस्ट्रेलिया, अमेरिका लगायत अन्य देशहरूमा पनि यस्ता घटनाहरूले नेपाली परिवारहरूको मन रुवाइरहेका छन्।
मनीषाको निधनले उनको उज्यालो सपना, परिवारको आशा र साथीहरूको साथ एकैपटक तोडेर राखेको छ। उनी शिक्षाका लागि विदेश गएकी थिइन्, तर जीवनले उनलाई कहिल्यै कल्पना नगरेको विपत्तिमा पुर्यायो।
नेपाली समाजमा मनीषाको मृत्युले शिक्षा र सुरक्षाबिचको संवेदनशील सम्बन्धप्रति फेरि एकपटक चेतना जगाएको छ।
प्रतिक्रिया